सीएफमोटोले ल्यायो ५ लाख ५० हजार पर्ने नयाँ मोटरसाइकल

काठमाडौं । सीएफमोटोको डबल पर्पस मोटरसाइकल २५० डुअल नेपालमा सार्वजनिक भएकाे छ ।

सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले बिहीबार एक कार्यक्रम बीच २५० डुअलको बिक्री सुरू गरेको हो ।

कम्पनीले २५० डुअलकाे मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

ऋषि ट्रेड सेन्टरका निर्देशक रोहिन अग्रवालले नेपालको भूभाग सुहाउँदा २५० डुअल विभिन्न भागमा परीक्षणपछि बिक्री सुरू गरेको बताए । ‘हामीले नेपालको विभिन्न क्षेत्रमा यसलाई लामो सयमदेखि परीक्षण पश्चात बिक्री सुरू गरेका हों,’ उनले भने ।

कम्पनीले बिक्रीपछिको सेवालाई थप मजबुत बनाउँन पनि निरन्तर काम गरिरहेको उनले बताए । ‘हामी मोटरसाइकल बिक्री गर्नेमा भन्दा सर्भिस डेलिभरी गर्नका लागि तयार छौं । यसका लागि नेपालका विभिन्न स्थानमा थ्री एस सेवा विस्तारको काम अघि बढाएका छौं,’ उनले भने ।

उक्त कार्यक्रममा सीएफ मोटोले मोटरसाइकलको पार्टसको मूल्य तथा सर्भिसको मूल्य समेत सार्वजनिक गरेको थियो । ऋषि ट्रेड सेन्टरका जनरल मेनेजर उज्वल जोशीले सीएफमोटोको सर्भिसको बारेमा बजारमा रहेका गुनासो संवोधन गरेको बताए ।

‘विगतमा जुन सीएफमोटोको पार्टस महँगो र सर्भिस राम्रो नभएको गुनासो थियो । त्यसलाई हामीले चिर्नका लागि ग्राहकहरुको सन्तुष्टिका लागि पार्टस्को मूल्यमा ४० प्रतिशतसम्म कटौती र सर्भिसका लागि रोड साइड एसिस्टेन्स जस्ता सेवा विस्तार गरेको छौं,’ उनले भने ।

यस्तो छ मोटरसाइकल

सीएफमोटो २५० डुअल मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ ।

मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी हुनेछ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ । टायर भने अनरोड र अफरोड दुवैका लागि उपयुक्त हुनेछ।

अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध डुअल २५० मा एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ ।


Back_to_top