गोरुसिंगे-चन्द्रौटा सडक ४ लेनकाे बनाइँदै, टेन्डर आह्वान

सांकेतिक तस्बिर

काठमाडौं । पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक अन्तर्गत तेस्रो खण्ड (गोरुसिंगे-चन्द्रौटा) चार लेनमा स्तरोन्नति गर्न ठेक्का आह्वान भएको छ ।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले गोरुसिंगे-चन्द्रौटा १९.२ किलोमिटर (चेनेज ६४०+००० किमीदेखि ६५९+२००किमी) सडकको ठेक्का आह्वान गरेको हो ।

इच्छुक कम्पनीले २०८३ वैशाख २१ गतेसम्म (मे ४) सम्म आवेदन दिन सक्नेछन् । आवेदक कम्पनीहरू मध्येबाट प्राविधिक मूल्यांकन र आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट हुनेछ ।

हाल दुई लेनमा रहेको यो सडक विश्व बैंकको ऋण सहयोगमा सहरी क्षेत्रमा ६ र अन्य क्षेत्रमा चार लेनको बनाउन लागिएको हो । साथै, यस खण्डमा ८ वटा नयाँ पुल र ७ वटा एनिमल अण्डर पास निर्माण गरिने छ ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा ६९ किलोमिटर सडकमध्ये यसअघि नै ५० किमीको ठेक्का लगाई धमाधम काम भइरहेको छ । रुपन्देही (बुटवल-कोठीखोला : लट १) र कपिलवस्तु (कोठीखोला-गोरुसिंगे : लट २) २५/२५ किमी) विभाजन गरी ठेक्का लगाइएको छ ।

दुवै खण्डको ठेक्का शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड/आशिष निर्माण सेवा प्राली जेभीले पाएको छ । यसको कुल लागत १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४४१ रुपैयाँ रहेको छ ।

२०८१ असार ११ गते ठेक्का सम्झौता भई कात्तिक ४ गतेदेखि काम सुरू गरिएको थियो । यो सडक सहरी क्षेत्रको १४ किमी ५० मिटर, अर्धसहरी क्षेत्रको १६ किमी ३७.४ मिटर र ग्रामीण क्षेत्रको २० किमी २४ मिटर फराकिलो बनाइँदै छ । यस सडकमा ३० वटा पुल, ११५ कल्भर्ट, ६ वटा सवारी अण्डरपास, १२ वटा पैदलयात्रु अण्डर पास, ११ वटा आकाशेपुल र १९ वटा एनिमल क्रसिङ निर्माण हुँदै छन् ।

हालसम्म समग्रमा २२.२५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी अशोक पौडेलले जानकारी दिए । उनका अनुसार रुपन्देही खण्डको २१.५ प्रतिशत र कपिलवस्तु खण्डको २३ प्रतिशत काम सकिएको छ ।

हाल दुवै खण्डमा माटो फिलिङ, भित्तो कटान, टेवा पर्खाल, कल्भर्ट, पुल, अण्डरपास, एनिमल क्रसिङ निर्माण लगायत काम भइरहेको उनले बताए ।

‘ठेक्का लागेका दुवै खण्डमा धमाधम काम भइरहेको छ । समग्मा भौतिक प्रगति २२ प्रतिशत माथि पुगेको छ,’ उनले मेरोअटोसँग भने ।

सवारी साधन निर्वाध आवतजावतका लागि बुटवल-गोरुसिंगेखण्डको ६ वटा अण्डरपास निर्माण हुँदैछ । रुपन्देहीको नयाँगाउँ, तामनगर, मुर्गे, बुद्धनगर, चारनम्बर र र कपिलवस्तुको जितपुरमा अण्डरपास निर्माण हुने छन् । तीमध्ये रुपन्देहीतर्फ नयाँगाउँ, तामानगर र कपिलवस्तुको जितपुर चोकको निर्माण सुरू भइसकेको उनले बताए ।

जंगल क्षेत्रमा सवारी गुड्दा वन्यजन्तुलाई क्षति नहोस् र निर्वाध आवातजावत गर्न सकून भनेर १९ वटा अण्डरपास बनाइने छ ।  सोमध्ये सालझण्डी-पिपरा खण्डमा ४ वटा, बनगाई-गोरुसिंगे जंगलमा १० वटा र अन्य जैगल क्षेत्रमा ५ वटा अण्डरपास बनाइने उनले बताए । केही अण्डरपासको काम थालिसकिएको उनले बताए ।

त्यस्तै, पैदल यात्रीका लागि बेलबास, बमाहा बजार, रानी वनगाई चोक, सालझण्डी, पिपराह, वनगंगा, बुद्धभूमि लगायत स्थानमा ११ वटा आकाशे पुल निर्माण हुँदै छन् ।

दुवै खण्डमा साइट क्लियरेन्सको काम भने बाँकी रहेको उनले बताए । व्यक्तिगत घरटहरा र बिजुलीको पोल हटाउन बाँकी रहेको उनको भनाइ छ ।


Back_to_top