काठमाडौं । भारतीय गो-कार्ड निर्माता केएनके कार्टस्ले ८० सीसी क्षमता भएको नयाँ मिनी बाइक सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा ५० हजार भारु मूल्य तोकेर उक्त मोटरसाइकल बिक्री सुरू गरेको हो ।
भारतमा गो-कार्ड उत्पादनका लागि निकै चर्चित छ । गो-कार्ड मात्र नभई गो-कार्डको सम्पूर्ण एसेशरिज र अफरोड बग्गी निर्माण गर्दै आइरहेको केएनके कार्टस् अब भने मिनी बाइक सेग्मेन्टमा पनि प्रवेश गरेको हो ।
केएनके मिनी बाइक पूर्ण रूपमा भारतमै डिजाइन र निर्माण भएको मोडल हो। यो विशेष रूपमा बनाइएको चेसिस फ्रेममा आधारित छ । यसमा पेट्रोलबाट चल्ने युटिलिटी इन्जिन प्रयोग गरिएको हो । जुन प्रायः गो-कार्टहरूमा मात्रै प्रयोग गरिन्छ।
यसमा दिइएको ८० सीसी इन्जिनले करिब ४ हर्सपावर उत्पादन गर्छ। शक्ति कम जस्तो लाग्न सक्छ । तर बाइक पनि सानो छ र यसको तौल करिब ४० किलो मात्र छ।
यो मिनी बाइक चलाउन पनि निकै सजिलो छ । इन्जिनबाट पावर सेन्ट्रिफ्युगल क्लच मार्फत पछाडिको पाँग्रामा पठाइन्छ। त्यसैले यसलाई चलाउन थ्रोटल घुमाए मात्र पुग्छ गियर वा क्लच प्रयोग गर्न पर्दैन। यसको राइडिङ अनुभव केही हदसम्म टीभीएस एक्सएल १०० मोपेड जस्तै छ ।
यसको पावर इन्जिनबाट टायरमा चेन ड्राइभ मार्फत ट्रान्सफर हुन्छ । कम्पनीका अनुसार फाइनल ड्राइभ रेसियो परिवर्तन गरेर बाइकलाई बढी एक्सेलेरेसन वा बढी टप स्पिड का लागि सेट पनि गर्न सकिन्छ ।
अफ-रोड वा बन्द सर्किटमा चलाउनका लागि बनाइएको यो मिनी बाइकमा ट्विस्ट एन्ड गो प्रकारको राइडिङ पोजिसन, अगाडि सिंगल साइड ट्रेलिङ लिंक सस्पेन्सन, पछाडि मोनोशक र दुवै टायरमा एक्चुएटेड मेकानिकल डिस्क ब्रेक छ ।
यस बाइकको सबैभन्दा आकर्षक विशेषता भनेको यसको ठूला अफ रोड टायरहरू हुन् । जसले यसलाई निकै फरक र दमदार लुक दिन्छ । यसलाई मुख्यतया अफरोड ट्र्याक, आफ्नो फार्महाउस वा निजी क्षेत्रमा चलाउनका लागि बनाइएको हो।
कम्पनीले केएनके ८० मिनी बाइकको बुकिङ सुरू गरिसकेको छ । यो बाइकको डेलिभरी जुन २०२६ देखि सुरू हुने कम्पनीले जनाएको छ ।

