अमेरिकाले खुकुलो बनायो रुसी तेल माथिको प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसी कच्चा तेल माथिको प्रतिबन्ध खुकुलो बनाएको छ ।

इरानसँग युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै अमेरिकाले रुसी तेल माथिको प्रतिबन्ध अस्थायी रुपमा हटाएको हो ।

अमेरिकी अखबार द वासिङ्टनका अनुसार अमेरिकाले युद्धको समयमा ‘विश्वव्यापी ऊर्जा बजारमा स्थिरता प्रवद्र्धन’ अस्थायी उपायको रुपमा रुसी तेल माथिको प्रतिबन्ध खुकुलो बनाएको हो ।

प्रतिबन्ध हटाइएपछि अन्तर्राष्ट्रिय समुन्द्मा रहेका तेल ट्यांकरहरू रूसले विश्वका विभिन्न देशमा पठाउन सक्नेछ । यद्यपि, यो अनुमति ११ अप्रिलसम्म मात्र कायम रहने छ ।

ऊर्जा बजारसम्बन्धी तथ्यांक संकलन गर्ने कम्पनी केप्लरका अनुसार हाल करिब १३ करोड ब्यारेल रूसी तेल अन्तर्राष्ट्रिय जलमार्गमा छ।

अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले युद्धको समयमा ‘विश्वव्यापी ऊर्जा बजारमा स्थिरता प्रवद्र्धन’ गर्न यो अस्थायी उपाय भएको बताए।

‘यो संकुचित रूपमा तयार पारिएको छोटो अवधिको उपाय हो । पहिले नै ट्रान्जिटमा रहेको तेलमा मात्र लागू हुन्छ । यसले रूसी सरकारलाई महत्त्वपूर्ण आर्थिक लाभ प्रदान गर्दैन,’ उनले भने ।

सन् २०२२ मा रुसले युक्रेन माथि आक्रमण गरेपछि अमेरिकाले रसिया विरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो । प्रतिबन्ध छल्नका लागि रूसले अस्पष्ट पहिचान भएका तेल ट्यांकहरू प्रयोग गर्दै आइरहेको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान माथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । यो साता तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको छ भने बढ्ने क्रम अझै जारी छ ।

अमेरिकी आक्रमणपछि इरानले तेल ढुवानी गर्ने विश्वकै प्रमुख मध्येको एक ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ । साथै, खाडी देशहरूमा रहेका तेल रिफाइनरीमा आक्रमण गरिरहेको छ । द्धन्द्धका कारण तेल ढुवानीमा अवरोध हुँदा विश्वका विभिन्न देशमा असर देखिन थालिसकेको छ ।


Back_to_top