बन्द भयो किया निरो, नेपाली उपभोक्ताले पाउलान् पार्ट्स ?

काठमाडौं । किया मोटर्सले आफ्नो चर्चित इलेक्ट्रीक क्रसओभर एसयूभी ‘निरो ईभी’ बन्द गरेको छ । दक्षिण कोरियाली कार निर्माताले आफ्नो चर्चित मोडल निरो बन्द गरेको हो ।

दी कोरियन हेराल्डले किया मार्केटिङ टिमका वरिष्ठ प्रबन्धक जंग युन–क्युङको भनाई कोट गर्दै निरो बन्द भएको समाचार लेखेको छ । जंग युन–क्युङले भनेकी छिन्, ‘किया निरोको उत्पादन बन्द गरिएको छ । त्यसको लागि राखिएका बाँकी सामान बिक्री गर्ने योजना बनाइएको छ ।’

किया मोटर्सले निरो ईभी, हाइब्रिड र पेट्रोल इन्जिनमा बिक्री गर्दै आएको मोडल हो । नेपाली बजारमा ईभीको रुपमा मात्रै नियो आयात भएको थियो । सन् २०१९÷२० मा निरो ईभी १३८ युनिट नेपाल ल्याएर बिक्री गरिएको छ ।

नेपाली बजारमा कियाका उत्पादन कन्टिनेन्टल ट्रेडिङले बिक्री गर्दै आएको छ । यसअघि कम्पनीले नेपाल ल्याएको सोल ईभी पनि सन् २०१९ पछि ल्याएको थिएन । अन्तर्राष्ट्रिय बजारमा अहिलेसम्म उपलब्ध निरो ईभी पनि सन् २०२० पछि कम्पनीले एक युनिट पनि ल्याएको छैन ।

सन् २०१८ बाट कियाले निरो मोडल उत्पादन थालेको थियो । त्यसको ३ वर्षपछि कम्पनीले सन् २०२१ मा सेकेन्ड जेनेरेशन निरो बजारमा ल्यायो । कम्पनीले अब ईभी सिरिजमा ध्यान केन्द्रित गरेको कारण निरो बन्द गरेको अनुमान गरिएको छ ।

उत्पादन बन्दपछि नेपालमा कस्तो असर ?

कियाले नेपालमा निरो ईभी बिक्री गरेपनि सर्भिसको अवस्था भने सन्तोषजनक छैन । कम्पनीले यसअघि बिक्री गरेका गाडी मध्ये दुर्घटना भएर आएको गाडी बनाउन झण्डै २ वर्ष लगाएको रिपोर्ट मेरोअटोले प्रकाशित गरेको थियो । उक्त रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय बजारमा निरो संख्यात्मक रुपमा बिक्री हुँदा त सर्भिस र पार्ट्स उपलब्ध गराउन नसक्ने कन्टिनेन्टल ट्रेडिङले बन्द भएको मोडलको सर्भिस दुरुस्त दिन्छ भनेर एकिन साथ भन्न सक्ने अवस्था भने छैन ।


Back_to_top