काठमाडौं । सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ जारी गरेको छ । पुस २१ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको आदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो ।
यससँगै अब नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाएर बिक्री वितरण गर्ने बाटो खुलेको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार निगमले आफ्नो उपलब्धता र प्राविधिक पक्ष मध्यनजर गर्दै एक लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन पाउने छ । यद्यपि, भविष्यमा आवश्यक परे मन्त्रिपरिषद् निर्णयबाट मिश्रण अनुपात घटबढ गर्न सक्ने प्रावधान राखिएको छ ।
सरकारले उद्योगहरूले उत्पादन गरेको इथानोल खरिद, बिक्री तथा वितरण प्रक्रियामा निगमलाई एकल अधिकार दिएको छ । जसअनुसार इजाजतप्राप्त उद्योगहरूले उत्पादन गरेको सम्पूर्ण इथानोल अनिवार्य रूपमा निगमलाई मात्र बिक्री गर्नुपर्नेछ । निगमबाहेक अन्य कुनै पनि निजी वा सरकारी निकायलाई बिक्री गर्न पाउने छैनन् ।
सरकारले इथानोल उत्पादनमा प्रयोग हुने कच्चापदार्थको स्रोतसमेत स्पष्ट किटान गरेको छ । आदेश अनुसार चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, पराल, मकैको खोया, गहुँको छ्वाली, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास) जस्ता कृषि अवशेष र खानका लागि अयोग्य सडेगलेका अन्नजस्ता वस्तुबाट इथानल उत्पादन गर्न सकिने छ ।
तर, खाद्य सुरक्षा उच्च प्राथमिकतामा राख्दै खाना योग्य खाद्यान्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । उत्पादित इथानोलको गुणस्तर नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड अनुरूप हुनुपर्ने छ ।
आदेश जारी भएसँगै अब निगमले कार्यविधि बनाइ इथानोल मिश्रण भएको पेट्रोल बिक्री प्रक्रिया कार्यान्वयनमा लैजाने छ ।

