किया नेपालको इलेक्ट्रीक कार सर्भिसः एउटा गाडी ठिक गर्न १९ महिना

सर्भिसमा प्रयोग भएको गाडी सांकेतिक हो ।

काठमाडौं । विद्युतीय कारमा सर्भिसको समस्या अहिलेको सर्वाधिक चासो र चर्चाको विषय हो । बढ्दो विद्युतीय साधनको प्रयोगसँगै सर्भिसमा आउने समस्याले उपभोक्ता कसरी मारमा परेका छन् भन्ने एउटा उदाहरण बन्न पुगेको छ कियाको सर्भिस ।

उसोत किया नेपालमा नयाँ ब्राण्ड होइन । झण्डै ३०-३२ वर्षदेखि कियाका उत्पादन नेपालमा छन् । त्यसमा पनि विद्युतीय साधन सोल ईभी ल्याएर उसले नेपालमा बिक्री थालेको ८ वर्षभन्दा बढी भइसकेको छ । यस्तो कम्पनीले दिएको सर्भिसबाट उसका उपभोक्ता पिडित भएका छन् ।

गौरीशंकर ग्यास उद्योग प्रालिको नाममा रहेको प्रदेश ३-०१-बा२२च ९५४६ नम्बरको किया निरो काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरबाट बाहिर निस्कने क्रममा दुर्घटना भयो । उक्त दुर्घटना सवार यात्रु र चालकलाई ठूलो क्षती नपुगेपनि गाडीमा भने राम्रै क्षती भयो ।

यो दुर्घटना केही दिन अघि एयरपोर्टमा भएको दुर्घटनासँग मिल्दोजुल्दो थियो । चालकले ब्रेक थिचेँभन्दा एक्सीलेरेटर थिच्न पुग्दा गाडीले स्पीड लिएर सडकको पल्लोभागमा रहेको पोलमा ठोकिएको थियो । यहाँ स्मरण गर्नु पर्ने कुरा दुर्घटनाको मिति हो । उक्त दुर्घटना २०७९ भदौ २८ गते भएको थियो ।

दुर्घटना लगत्तै कन्टिनेन्टल ट्रेडिङको आधिकारीक सर्भिस सेन्टरमा गाडी लगिएको ग्यास उद्योग स्रोतले भन्यो । कन्टीनेन्टल ट्रेडिङले क्षती एकिन गरेर कोटेशन असोज १२ गते निकाल्यो । उक्त दुर्घटनामा गाडीमा रहेको हाइभोल्टेज ब्याट्री केही भएको थिएन । गाडीको अगाडिको भाग पूर्णरुपमा क्षती भएको थियो ।

बनाउन किन लाग्यो १९ महिना ?

अहिलेको सबैभन्दा पेचिलो विषय नै यसको निर्माणमा कम्पनीले लगाएको समय हो । ग्यास उद्योगबाट यसको सर्भिङ ताकेता गर्ने संदिप ढकाल भन्छन्, ‘कियाले गाडीमा सर्भिस दिएको होइन, यातना दिएको हो । हामीले भन्ने ठाँउ कहि बाँकी रहेन, कम्पनीले कहिल्यै हामीलाई रेस्पोन्स गरेन ।’

ढकालले गाडी सर्भिसको डकुमेन्ट देखाउँदै भने, ‘के गरिन मैले, कम्पनीले फोन उठाउन छाड्यो । त्यसपछि किया ग्लोवललाई इमेल लेख्नेदेखि कन्टिनेन्टललाई हुलाकबाट पत्र पठाउने काम गरेँ । यद्यपि, कम्पनीले रेस्पोन्स नै दिएन ।’

२०७९ भदौ २८ गते सर्भिस सेन्टर लगेको गाडी २०८१ जेठको पहिलो साता बनाएर दिएको थियो । एउटा गाडी बनाएर दिन १९ महिना लाग्यो ।

कति लाग्यो खर्च ?

किया निरो ६८ लाख मूल्यमा कम्पनीले किनेको ढकालले जानकारी दिए । दुर्घटनापछि असोज १२ गते कम्पनीले दिएको कोटेशन अनुसार सामानको खर्च ३१ लाख ९२ हजार, बनाउन ज्याला २ लाख ३१ हजार र एसी परिवर्तन गर्न १ लाख ५९ हजार लाग्ने उल्लेख छ । यी सबै खर्च मिलाउँदा निरो बनाउने खर्च ३५ लाख ८२ हजार निस्केको ढकालले बताए ।

‘कम्पनीले कोशटेन दिएको भोलिपल्टै मैले काम अगाडि बढाउन भन्दै १० लाख रुपैयाँ पठाए । गाडी राख्नु भयो, पैसा पनि लिनु भयो, हामीले भने गाडी पाउन १९ महिना कुर्नु पर्यो’, ढकालले भने ।

यसले कियाको सर्भिसलाई उदाङ्गो मात्रै पारेको छैन । विद्युतीय गाडी किन्नेहरुले बिक्रेताको सर्भिसका विषयमा ब्यापक आवाज उठाउनु पर्ने अवस्था आएको देखिन्छ ।


Back_to_top