आक्रमक ईभी उत्पादनको योजनाबाट पछि हट्दै टोयोटा

काठमाडौं । जापानीज अटोमोवाइल कम्पनी टोयोटा ब्याट्री इलेक्ट्रीक भेहिकलमा आफैँले तयार पारेको योजनाबाट पछाडि हटेको छ । कम्पनीले प्योर इलेक्ट्रीक भेहिकलभन्दा हाइब्रिड भेहिकलमा ध्यान केन्द्रित गर्न थालेको हो ।

विश्वको सबैभन्दा ठूलो अटोमोवाइल उत्पादक भएर पनि टोयोटाले नयाँ ईभी मोडलहरु ल्याउन खासै चासो दिएको छैन । पछिल्लो रिपोर्ट अनुसार टोयोटाले आफ्नो सबैभन्दा ठूलो मार्केट अमेरिकाको क्यान्टुकीमा सन् २०२५ बाट ईभी उत्पादन गर्ने योजनालाई पछाडि धकेलेको हो ।

टोयोटाले अब सन् २०२६ को पहिलो हाफबाट मात्रै अमेरिकामा ईभी उत्पादन गर्ने नयाँ टाइम लाइन बनाएको छ । कम्पनीले ईभीको लागि नयाँ योजना बनाउनुको कारण ईभी मोडलको डिजाइनमा भएको परिवर्तन मुख्य मानिन्छ ।

टोयोटाले केन्टुकी प्लान्टमा पहिलो भेहिकल थ्रिरो इलेक्ट्रीक एसयूभी बनाउने योजना सार्वजनिक गरेको थियो । गत फेब्रुअरीमा टोयोटाले ब्याट्री प्याक र भेहिकल एसेम्बली लाइन बनाउन १.३ बिलियन डलर लगानी गर्ने बताएको थियो ।

कम्पनीले सन् २०२५ बाट अमेरिका कै नर्थ क्यारोलिनामा ब्याट्रीसेल उत्पादन गर्ने बताएको छ । टोयोटा मात्रै होइन यसअघि जनरल मोटर्स, फोर्ड, भल्भो र मर्सिडिज बेन्जले घोषणा गरेको ईभी रणनीतिमा परिवर्तन गरी विद्युतीय भेहिकल बिक्री गर्ने आफ्नो लक्ष्य पुनराअवलोका गरेका थिए ।

टोयोटाले अमेरिकी बजार जम्मा २ वटा मोडलको ईभी बिक्री गरिरहेको छ । जबकी टोयोटाको लाइनअपम ३० वटा हाइब्रिड मोडलहरु बिक्रीमा रहेका छन् । कम्पनीले अमेरिकामा आगामी २ वर्ष भित्र पाँचदेखि ७ वटा नयाँ ईभी मोडल लन्च गर्ने योजनालाई निरन्तरता दिने जनाएको छ ।


Back_to_top