काठमाडौं । चाबहिल-जोरपाटी-साँखु सडकखन्डमा हालसम्म १ किलोमिटर भन्दा कम मात्र पिच भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार हालसम्म विभिन्न ठाउँमा गरेर १ किलोमिटरको हाराहारीमा पिच भएको हो ।
चुच्चेपाटीदेखि हायत होटल, गोकर्ण रिसोर्ट अगाडी, नर्लिङ्ग हाेटलकाे अगाडिकाे केही भागमा मात्र पिच भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले जानकारी दिए ।
सो सडकखन्ड निर्माणको जिम्मा ५ ठेकेदार कम्पनीले पाएका थिए । सबै ठेक्का गरेर कुल १ अर्ब ७३ करोड ५४ लाख १५ हजार रुपैयाँ बजेट छुटाइएको थियो । उक्त बजेट मध्ये हालसम्म ८८ करोड २ लाख ६० हजार रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

कुल बजेटको ४९.२७ प्रतिशत बजेट खर्च भइसक्दा हालसम्म १ किलोमिटर मात्र सडक पिच भएको छ । अहिले धमाधम ग्राभेल बिच्छ्याउने काम भइरहेकाले पछि कालाेपत्रे गर्नभने धेरै समय नलाग्ने श्रेष्ठको दाबी छ ।
‘ठाउँ–ठाउँमा बेस, सब–बेस बनाउने काम भइरहेको छ, यही असारसम्म पिच गरिसक्ने लक्ष्य छ,’ श्रेष्ठले मेरोअटोसँग भने । चाबहिलको चोकमा भने पानी लिक भइरहेकाले पिच गर्न समस्या भएको उनले बताए ।
उनकाअनुसार चाबहिल चोकमा पानी जमेकाले त्यसमा हाल पाइप राख्न समस्या भएको र पाइप नराखी पिच गर्न मिल्दैन । ‘चोक भएकाले त्यहाँ पाइप लगाउँदा बाटो रोक्नुपर्ने हुन्छ, ट्राफिकको समस्याले काम सरासर हुन नसकेको हो,’ श्रेष्ठले भने । चाबहिल–साँखु सडकखन्डकाे कुल लम्बाइ साढे ११ किलोमिटर रहेको छ ।

