काठमाडौं । नेपालमा १०० सीसीका मोटरसाइकललाई इन्ट्री लेभल कम्युटर सेग्मेन्ट भनेर चिनिन्छ । यो सेग्मेन्टका मोटरसाइकलको आयात ४७ प्रतिशतले बढेको हो ।
सन् २०२५ (जनवरी-डिसेम्बर १५ सम्म)को आयात तथ्यांक अनुसार १०० सीसी सेग्मेन्टका मोटरसाइकलको आयात ६ हजार ४७३ युनिट भएको छ । अघिल्लो वर्ष सन् २०२४ मा ४ हजार ४०० युनिट मात्रै १०० सीसीका मोटरसाइकल आयात भएको थियो ।
अहिले १०० सीसी सेग्मेन्टमा बजाज, हिरो, टीभीएस र सुजुकीले मोटरसाइकल आयात गर्दै आएको देखिन्छ । समग्रमा ४७ प्रतिशतले बजार बढेको इन्ट्री लेभल सेग्मेन्टमा चार ब्राण्डको अवस्था यहाँ चर्चा गरिएको छ ।
कुन मोडलको आयात कति ?
साना मोटरसाइकलको सूचीमा पनि बजाज नै अगाडि देखिएको छ । १०० सीसी सेग्मेन्टमा बजाजले एक्लै ४२ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२५ मा बजाज प्लाटिना १०० मोटरसाइकल २ हजार ७०९ युनिट आयात भएको हो ।
त्यसैगरी, १०० सीसी सेग्मेन्टमा टीभीएसले रेडिअन र एक्सएल १०० मोडल बिक्री गर्दै आएको छ । कम्पनीले यी दुई मोटरसाइकल मिलाएर २ हजार १२० युनिट आयात गरेको देखिन्छ । यो कुल आयातको ३३ प्रतिशत हो ।
त्यस्तै, हिरोको चर्चित मोटरसाइकल स्प्लेन्डर १०० सीसी भेरियन्ट १ हजार ६२० युनिट आयात भएको देखिन्छ । हिरोले १०० सीसी सेग्मेन्टमा २५ प्रतिशत हिस्सा ओगटेको छ ।
जापानी ब्राण्ड सुजुकीको हायाते मोटरसाइकल भने २४ युनिट आयात भएको छ । सस्तो मूल्यमा पाइने र संचालन खर्च कम लाग्ने यस्ता मोटरसाइकलहरू नेपालको तराई क्षेत्रमा बढी बिक्री हुन्छ ।

