काठमाडौं । नेपाली बजारमा उपलब्ध समान मूल्य भएका इन्ट्री लेवल कारमा हुन्डाई, टाटा, रेनो र डाट्सन ब्रान्डमा कडा प्रतिस्पर्धा देखिएको छ । यसमा हामीले १००० सीसी क्षमता र त्योभन्दा बढी क्षमताका गाडीलाई लिएका छौँ ।
जसमा टाटा टियागो ११९९ सीसी रहेको छ भने, हुन्डाई सेन्ट्रो १०८६ सीसी क्षमताको छ । अन्य दुई कार क्वीड र रेडि गो भने ९९९ सीसी क्षमताका रहेका छन् ।
सरकारले लिने कर सीसीको आधारमा भएकाले सेन्ट्रो र टियागोमा ५ प्रतिशत अन्तःशुल्क बढी लाग्छ । यी चार कम्पनीका सेन्ट्रो, टियागो, क्वीड र रेडी गो मोडलमा कडा प्रतिस्पर्धा देखिएको हो ।

नाडा अटाेमाेवाइल्स एसाेसिएसन अफ नेपालले आज प्रकाशन गरेको खुद्रा मूल्य अनुसार हुन्डाई मोटरको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेन्ट्रो इरा मोडलको मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकेको छ । उक्त मोडल नेपाली बजारमा बिक्री सुरु भएको करिब ३ महिना भएको छ ।

त्यसैगरी टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टियागो एक्सई मोडलको बिक्री मूल्य २१ लाख ५५ हजार रुपैयाँ तोकेको छ ।

फ्रान्सेली कार उत्पादक कम्पनी रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले रेनो क्वीड आरएक्सएल एएमटीका मूल्य २१ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

पायोनियर मोटो कर्पले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको डाट्सनको रेडि गो टी (अप्सनल) को मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।


