‘इन्डिया मेड सि थ्री’ सार्वजनिक, चाँडै नेपाल आउने

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी सिट्रोनले भारतमा बनाएको पहिलो कार सि थ्री प्रदर्शन गरेको छ । प्रिमियर भएपनि यसको विक्री भने आगामी जुलाई २० तारिकदेखि मात्रै हुनेछ ।

सब फोर मिटर सेग्मेन्टमा आउने अपेक्षा गरिएको सिट्रोन सि थ्रीलाई कम्पनीले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा ल्याएको हो । भारतको तामिलनाडु प्लान्टबाट ९० प्रतिशत स्थानीय कच्चा पदार्थको प्रयोगबाट यसलाई तयार गरिएको कम्पनीले जनाएको छ ।

बाहिरी आवरण आकर्षक देखिएको सि थ्रीमा अगाडि बम्परको सबैभन्दा माथि सिट्रोनको लोगोसहित सिग्नेचर सिल्क क्रोम वारपार दिइएको छ । स्प्लिट हेडल्याम्प र फरक डिजाइनको एलइडी डीआरएल रहेको सिथ्री डिउलटोन कलर अप्सनमा पनि आउने छ ।

यो कारमा सेतो रंगको बडीमा अरेन्ज कलरको रुफका साथै ओआरभीएम र क्लाइडिङमा समेत  डिउलटोन डिजाइन रहेको छ । दुवै साइडमा हेभी क्लाइडिङ दिएको छ, त्यसकै कारण यसलाई बेबी एयरक्रस सी फाइभ जस्तो देखाउँछ ।

नयाँ कारमा १५ इन्चको आलोय ह्वील दिएको छ भने रुफरेलले स्पोर्टी देखाउन मद्दत गरेको छ । यो कारको ग्राउण्ड क्लियरेन्स १८० एमएमको रहेको छ ।

अत्याधुनिक डिजाइनको सीथ्रीमा ड्यासबोर्डमा पनि ड्युल कलर प्रयोग भएको छ । नयाँ फिचरको रूपमा स्मार्ट फोन झुन्डाउन क्ल्याम्प अड्याउने ठाउँ पनि रहेको छ । १० इन्चको फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट रहेको छ जसमा आपल कारप्ले, एन्डरोइड अटो र मिरर स्क्रीन फङ्सन समेत रहेको छ ।

यसमा फ्ल्याटबटम मल्टीफङ्सन युक्त स्टेरिङ ह्वल दिएको यो कारमा अटोमटिक क्लाइमेट कन्टोल, ३ वटा फास्ट चाजिर्ङ यूएसबी पोर्ट तथा १२ भोल्टको सकेट पोर्ट समेत रहेको छ ।

सुरक्षाका लागि यो कारमा दुवैतर्फ अगाडि एयरब्याग, रियर पार्किङ सेन्सर तथा ईबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम रहेको छ । यसको लम्बाइ ३९८१ एमएम, चौडाइ १७३३ एमएम, उचाइ १५८६ एमएम तथा २४५० एमएमको ह्वीलबेस रहेको छ ।

कम्पनीले यो कारमा १.२ लिटरको टर्बो तथा नेचुरली एस्पीरेटेड दुई थरिको इन्जिन रहेको जनाएको छ । यो कारको नेचुरल्ली एस्पीरेटेड इन्जिनको ८१ हर्सपावर रहेको छ भने यो मोडलमा ५ स्पीडको म्यानुअल गियर बक्स दिएको छ ।

त्यस्तै, अर्को भरियन्टमा १.२ लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ, जसले १०८ हर्सपावर र १९० एनएमको टर्क जनेरेट गर्छ । यो भेरियन्टमा भने ६ स्पीडको म्यानुअल गियरबक्स रहेको छ । सिट्रोन सिथ्रीमा अटोमेटिक गियरबक्स छैन ।

सिथ्रीको टर्बो इन्जिन भर्सनले मात्र १० सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड पुग्न सक्छ । फ्यूल इफिसियन्सीको कुरा गर्दा सि थ्रीको नेचुरल्ली एस्पिरेटेड इन्जिनले १९.८ किलोमीटर र टर्बो इन्जिनले १९.४ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ ।

सिट्रोनको सिथ्रीको सिधा प्रतिस्पर्धा टाटा पन्चसँग हुने देखिएको छ । यसका अलावा मारुती इग्नीस, निसान म्याग्नाइट तथा रेनोको काइगरलाई समेत यो कारले कडा टक्कर दिने सम्भावना रहेको छ ।

भारतमा विक्री सुरु भएको केही समयपछि नै सिट्रोनको नयाँ गाडी नेपाली बजारमा पनि उपलब्ध हुनेछ । सिट्रोनको आधिकारीक वितरक साँग्रिला मोटर्स हो ।


Back_to_top