पछिल्लो समय एसयूभीकै प्लेटफर्ममा बनेका कार सब–कम्प्याक्ट एसयूभी प्रति उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । यो सेगमेन्टको कार पूर्ण एसयूभी होइन । तर देख्दा एसयूभी जस्तै देखिने र एसयूभीमा हुने विशेषताहरु समावेश गरिएको क्रसओभर कार हो कम्प्याक्ट एसयूभी ।
यस्ता कारहरु ४ मिटर भन्दा कम लम्बाईका हुन्छन् । त्यसैले यो सेगमेन्टलाई सब–फोर मिटर एसयूभी भनिन्छ । अहिले सबै जसो कम्पनीले यो सेगमेन्टमा कार उत्पादन गर्दै आएका छन् ।
टाटाले २०१७ मा कम्प्याक्ट एसयूभी नेक्सन सार्वजनिक गरेको थियो । ग्लोबल एनक्याप क्रास टेस्टमा फाइभ स्टार पाउने पहिलो भारतीय कार बनेको छ ।
कम्प्याक्ट एसयूभी सेगमेन्टमा भारतीय बजारमा सबैभन्दा धेरै बिक्री हुनेमा मारुती सुजुकी भिटारा ब्रेजा रहेको छ । गत वर्ष भारतमा १ लाख ५७ हजार ८ सय ८० यूनिट भिटारा ब्रेजा बिक्री भएको छ ।
भिटारा ब्रेजालाई टाटा नेक्सनले पक्षाएको छ । गत वर्ष टाटा नेक्सन ५५ हजार ८ वटा बिकेको देखिन्छ । यो निक्कै सुरक्षित कारको रुपमा रहेको छ । त्यस्तै धेरै बिक्री हुने कम्प्याक्ट एसयूभीमा फोर्ड इकोस्पोर्ट रहेको छ । आर्थिक वर्ष २०१८÷१९ मा इकोस्पोर्ट ४६ हजार २ सय ६५ वटा बिक्री भएको थियो ।
सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभीको सूचिको चौथो स्थानमा होन्डा डब्लूआर–भी रहेको छ । गत वर्ष ३३ हजार १० वटा डब्लूआर–भी बिक्री भएको छ । त्यस्तै पाँचौ स्थानमा महिन्द्रा टीयूभी–३०० रहेको छ । यो कार गत वर्ष १९ हजार ५ सय ७० वटा बिकेको थियो ।
त्यस्तै छैटौं धेरै बिक्री हुने कम्प्याक्ट एसयूभीमा पनि महिन्द्राकै एक्यूभी–३०० रहेको छ । यो कार गत आर्थिक वर्षमा ९ हजार २ सय २६ वटा बिकेको थियो । महिन्द्रा एक्सयूभी–३०० २०१९ को फेब्रुअरीमा सार्वजनिक भएको हो ।
यो वर्षको अन्त्यसम्ममा महिन्द्रा एक्सयूभी–३०० ले होन्डा डब्लूआर–भी र फोर्ड इकोस्पोर्टलाई पछि पार्ने अनुमान गरिएको छ । यो कार नेपाली बजारमा समेत सार्वजनिक गर्ने अन्तिम तयारी रहेको छ ।
माथि उल्लेखित सबै कार नेपाली बजारमा समेत उपलब्ध रहेको छन् । र यी कार नेपाली उपभोक्ता माझ लोकप्रिय समेत रहेको छन् ।


