कम्पास ईभीमा दुई ब्याट्री अप्सन, ‘सस्पेन्सन लिफ्ट’ गर्न सकिने, आउला नेपाल ?

काठमाडौं । जीपले आफ्नो तेस्रो जेनेरेशन कम्पासको इलेक्ट्रीक भर्सनमा दुई ब्याट्री अप्सन दिने भएको छ । कम्पनीले कम्पासको इलेक्ट्रीक भर्सनमा ७३ र ९७ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन दिन लागेको हो ।

कम्पास ईभीमा भएका फिचरको बारेमा जानकारी दिदै कम्पनीले सानो ब्याट्रीले ५०० किलोमिटर र ठूलो ब्याट्रीले ६५० किलोमिटर रेन्ज दिने जनाएको छ । कम्पनीले फ्रन्ट ह्वील ड्राइभमा १६० किलोवाट र अल ह्वील ड्राइभमा अगाडि १६० र पछाडि १३३ किलोवाटको मोटर दिनेछ । यी दुईको संयुक्त पावर २९३ किलोवाट हुनेछ ।

नयाँ जेनेरेशन कम्पासको इलेक्ट्रीक मोडलमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीका अनुसार ४७० एमएम गहिरो पानी जमेको स्थानमा पनि यसलाई सजिलै चलाउन मिल्छ ।

अफरोड क्षमता उत्कृष्ट रहने इलेक्ट्रीक एसयूभी ‘टफ टेरेन’मा पनि चलाउन सकिनेगरी बनाइएको छ । यसको अप्रोच एङ्गल २० डिग्री, ब्रेकओभर एङ्गल १५ डिग्री र डिपार्चर एङ्गल २६ डिग्री रहेको छ । यसमा १० एमएमसम्म सस्पेन्स लिफ्ट गर्न सकिन्छ । जसले ग्राउन्ड क्लियरेन्स बढाउने छ । साथै, अप्रोच एङ्गल, ब्रेकओभर एङ्गल र डिपार्चर एङ्गल बढाउने छ ।

कहिले आउँछ नेपाल ?

जीपको चर्चित कम्पास एसयूभी अहिले पनि नेपाली बजारमा उपलब्ध छ । डिजेल इन्जिनमा मात्रै अहिले कम्पास एसयूभी बिक्री हुँदै आएको छ ।

नेपालमा पेट्रोलियम कारको तुलनामा ईभीको बिक्री तिब्र गतिमा भइरहेको छ । यस्तोमा जीपको आधिकारीक बिक्रेता एमएडब्लू लाइफले जीप कम्पासको इलेक्ट्रीक भर्सन नेपाल ल्याउन सक्नेछ ।

अहिलेसम्म भारतमा उत्पादन भएको कम्पास नेपाली बजारमा आउने गरेको छ । नयाँ जेनेरेशन कम्पास भारतमा उत्पादन नगर्ने स्टेलान्टीसले निर्णय गरिसकेको कारण थर्ड कन्ट्रीबाट नै जीपका उत्पादन नेपाल आउने अनुमान गर्न सकिन्छ । त्यसैले कम्पास अमेरिकी वा युरोपियन बजारमा उत्पादन भएर नेपाल आउने छन् ।

कम्पनीले ठ्याक्कै आउने वा नआउने विषयमा जानकारी नदिएको कारण कहिलेसम्ममा नेपाल आउँछ एकिन भन्न सकिदैन । तर, युरोपमा भने नयाँ जेनेरेशन कम्पासको बुकिङ खुला भइसकेको छ ।


Back_to_top