फेसलिफ्ट जीप कम्पास र अल न्यू हुन्डाई टुसानमा यस्ता छन् भिन्नता

काठमाडौं । नेपाली अटोमोवाइल बजारमा १ करोडसम्म वा १ करोडको आसपास खर्च गरेर सवारी साधन किन्नेको लागि खासै धेरै छनोट छैन । जापान र युरोपमा बनेका गाडीहरु तुलनात्मकरुपमा धेरै महँगो हुने गर्छन् ।

बजारमा चल्तीका ५० लाखदेखि ८० लाख मूल्यका गाडी चढ्दै आएका मानिसले त्यसबाट अपग्रेड गर्दा ९० लाखदेखि १ करोड ४० लाखसम्म बजेट खर्च गर्ने गरेको पाइन्छ ।

अहिले नेपालमा विक्री हुँदै आएको अमेरिकी कम्पनी जीपले भारतमा उत्पादन गरेको नयाँ फेसलिफ्ट कम्पास र कोरियन कम्पनी हुन्डाईले ल्याएको नयाँ जेनेरेशन टुसानमा आकर्षित भएका देखिन्छन् । टुसान कोरियामा बनेको एसयूभी हो ।

नेपाली बजारमा कम्पास र टुसानको मूल्यमा पनि धेरै फरक छैन । ८४ लाखदेखि १ करोड ३६ लाख भित्रै यी दुबै गाडीको विभिन्न भेरियन्ट किन्न पाइन्छ ।

जीप कम्पास स्पोर्टस, लङ्गीचुड, लिमिटेड र मोडल एस गरी ४ भेरियन्टमा पेट्रोल तथा डिजल दुबै अप्सनमा किन्न पाइन्छ । हुन्डाईले टुसानलाई पेट्रोल इन्जिनमा जीएल, जीएलएस, जीएलएक्स गरी ३ भेरियन्ट र जीएलएक्स फोरह्वील ड्राइभ सहितको डिजेल इन्जिनमा उपलब्ध गराएको छ ।

वाहिरी लुक्स

हुन्डाईको टुसानमा पहिलो पटक प्रयोग भएको प्यारामेट्रीक ग्रिल तथा हाफ मिरर युक्त हिडन लाइटले यो एसयूभीलाई बाटोमा गुड्दा अन्य गाडीभन्दा फरक देखाएको छ । अटोमोवाइल विज्ञहरुले यो डिजाइनलाई मोस्ट डाइनामीक एन्ड ट्रेन्डीको संज्ञा दिएका छन् । अल न्यू हुन्डाई टुसानलाई डिजाइन रिभोलुसन मान्न सकिन्छ ।

अमेरिकी अफरोड एसयूभी निर्माणमा चर्चित बनेको जीपले बनाएको कम्पासको लुक्स पनि अन्य कारहरु भन्दा बिल्कुल फरक देखिन्छ । नयाँ कम्पासमा कम्पनीले इन्ट्रीग्रेटेड डिआरएलसहितको रिभाइज हेडलाइट, नयाँ डिजाइनको फगलाइट, ठूलो एयरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ अलोय ह्वील र अगाडि जीपको यूनीक सेभेन स्लट ग्रिलको डिजाइन दिएकाले एसयूभी चाहने ग्राहकको रोजाईमा कम्पास पर्दै आएको छ ।

इन्टेरियर फिचर

फिचरको मामलामा कोरियन कम्पनीले बनाएको टुसान केही अगाडि देखिन्छ । टुसानमा राउन्ड ड्यासबोर्ड दिइएको छ । यो एसयूभीमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम, अन्य कामको लागि बटम, गियर लिभरको स्थानमा बटम प्रदान गरिएको छ ।

त्यस्तै यसमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्रि क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसी भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

नयाँ जीप कम्पासको इन्टेरियरमा भने ठूलो परिवर्तन पाउन सकिदैन । नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल जस्ता विशेषत दिइएको छ ।

नयाँ १०.१ इन्चको टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टीच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोक स्टेरिङ ह्वील रहेको छ । नयाँ कम्पासमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको यु कनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ ।

नयाँ फिचरमा ड्यूल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ ।

इन्जिन

जीप कम्पासको पेट्रोलमा १.४ लिटरको मल्टी एयर पेट्रोल इन्जिन रहेको छ जसले १६० एचपी पावर तथा २५० एनएम टर्क जेनेरेट गर्छ । हुन्डाईको टुसानमा २.० लिटरको पेट्रोल इन्जिन रहेको छ । यसले १५६ एचपी पावर तथा १९२ एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै जीपमा रहेको २.० लिटर मल्टीजेट डिजल इन्जिनले १७० एचपी पावर तथा ३५० एनएम टर्क जेनेरेट गर्छ भने, टुसानमा दिएको २.० लिटर डिजल इन्जिनले १८६ एचपी पावर तथा ४१७ एनएम टर्क उत्पादन गर्छ । दुबै एसयूभी अटोमेटिक तथा म्यानुअल ट्रास्मिसनमा उपलब्ध रहेको छ ।

डायमेन्सन

हेर्दा दुबै एसयूभी समान साइजका देखिएता पनि लम्बाई उचाई तथा चौडाईमा हुन्डाई टुसान केही ठूलो रहेको छ । टुसानको लम्बाई ४६३० एमएम, चौडाई १८६५ एमएम तथा उचाई १६६५ एमएमको रहेको छ । त्यस्तै टुसानको ह्वीलवेस २७५५ एमएम लामो छ ।

जीप कम्पासको लम्बाई ४४०५ चौडाई १८१८ तथा उचाई १६४० एमएमको रहेको छ । कम्पासको ह्वीलवेस २६३६ एमएमको रहेको छ । टुसानमा ५९८ लिटरको बुट स्पेस रहेको छ भने, जीप कम्पासमा ४३८ लिटरको बुटस्पेस पाउन सकिन्छ ।

त्यस्तै जीप कम्पासको ग्राउण्ड क्लियरेन्स २०८ एमएमको रहेको छ भने टुसानको ग्राउण्ड क्लियरेन्स १८२ एमएम मात्र रहेको छ ।

सुरक्षा फिचर

हुन्डाई टुसानमा नयाँ स्मार्टसेन्स प्रविधिको प्रयोग भएको छ । जसमा फरवार्ड कलुजन वार्निङ, व्लाइन्ड स्पर्ट कलुजन अभोयडेन्स असिस्टेन्स, रियर क्रस ट्राफिक कलुजन अभोयडेन्स असिस्ट, क्रुज कन्ट्रोल, अटोहोल्ड सहितको इलेक्ट्रीक पार्किङ ब्रेक, फ्रन्ट तथा रिभर्स पार्किङ डिस्ट्यान्स वार्निङ आदि सुविधा रहेका छन् । यस एसयूभीमा सातवटा एयरव्याग प्रयोग भएको छ ।

सुरक्षाका लागि नयाँ कम्पासमा फ्रेक्वेन्सी ड्याम्पीन सस्पेन्सन, ६ एयरब्याग, एन्टीरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइएसओ फिक्स चाइल्ड सिट माउन्ट लगायत ५० बढी सुरक्षा फिचर रहेका छन् ।


Back_to_top