काठमाडौं । हुन्डाईको नयाँ जेनेरेशन क्रेटा र कियाको सेल्टोस बीच कडा प्रतिस्पर्धा देखिएको छ । कम्प्याकट एसयूभी किन्न चाहनेहरुको रोजाइमा हुन्डाई क्रेटा र किया सेल्टोस परिरहेको छ ।
हुन्डाईका गाडी नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको छ भने कियाका गाडी कन्टिनेन्टल्स ट्रेडिङले विक्री गर्दै आएको छ । यी दुबै गाडीमा धेरै फिचर समान रहेका छन् भने डिजाइनमा भने धेरै परिवर्तन देख्न सकिन्छ ।
दुबै गाडीमा एउटै इन्जिन उपलब्ध रहेको छ । दुबै कोरियन ब्राण्डले ल्याएको क्रेटा र सेल्टोस भारतमा उत्पादन भएका उत्पादन हुन् ।
अघिल्लो तिहारपछि नेपाल आएको सेल्टोस र यहि दशैंअघि नेपाल आएको क्रेटाको बीचमा राम्रै प्रतिस्पर्धा देखिएको छ । यद्यपी हुन्डाई क्रेटाको नेपालमा निकै राम्रो विगत रहेको छ । नेपाली सडकमा ६ हजार ५०० यूनिट क्रेटा गुडिरहेको छ । यस्तोमा नयाँ क्रेटालाई बजार बिस्तारमा निकै सहज भएको छ ।

किया सेल्टोस र हुन्डाई क्रेटा एउटै इन्जिन प्रयोग भएको गाडी हो । यी दुबै एसयूभीमा समान १.५ लिटर पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध गराएको छ । यी गाडीले प्रदान गर्ने पावर र टर्क पनि समान रहेको छ । गियरबक्सपनि दुबैमा एउटै प्रदान गरिएको छ ।
इन्जिनको हिसावले यी दुई एसयूभी किन्नेले दुबैमा समान पावर, माइलेज र पर्फमेन्स पाउने छन् ।
दुबै एसयूभी निकै स्पोर्टी डिजाइनमा तयार भएका छन् । दुबैमा थ्रि पिस एलइडी हेडल्याम्प र डेटाइम रनिङ लाइट दिइएको छ । तर, दुबैमा हेडल्याम्पको डिजाइन भने फरक पाउन सकिन्छ ।
हुन्डाई क्रेटामा बम्परमा फगल्याम्प, कर्भि क्यासगेडिङ ग्रिल, अलोय ह्वील, एलइडी टेल ल्याम्प क्लष्टर दिइएको छ ।
सेल्टोसमा टाइगर नोज ग्रिल, बम्परमा आल्मुनियम बोर्डर, एलइडी टेल ल्याम्प, क्रोम फिनिस जस्ता बिशेषता पाउन सकिन्छ ।
सेल्टोसको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाई १६४५ एमएम रहेको छ । हुन्डाई क्रेटाको लम्बाई ४३०० एमएम, चौडाई १७९० एमएम र उचाई १६३५ एमएम रहेको छ । यी दुबै एसयूभीमा समान २६१० एमएमको ह्वीलवेस र ४३३ दिटरको बुटस्पेश पाउन सकिन्छ । साइजमा किया सेल्टोस १० देखि १५ मिलिमिटर ठूलो रहेको छ ।

कियाले भारतमा उत्पादन गरेको पहिलो एसयूभी सेल्टोसको ड्यासबोर्डमा स्टाइलिस फिचरहरु दिएको छ । सेल्टोसको ड्यासबोर्डमा सिल्भर र पियानो व्ल्याक फिनिस पाउन सकिन्छ भने सफ्टटच मेटेरियलको प्रयोग गरिएको छ । यसको डोर प्यानल र ड्यासबोडमा डबल स्टेचिङ लेदरको प्रयोग गरिएको छ । सेल्टोसमा पनि १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको थियो ।
क्रेटाको ड्यासबोर्डमा हार्ड साइनिङ प्लास्टीकको प्रयोग गरिएको छ । पूर्णत व्याक कलरको प्रयोग गरिएको ड्यास बोर्ड सफा देखिन्छ भने यसमा प्रयोग गरिएको १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले एसयूभीको ड्यासबोर्ड आकर्षक देखाएको छ ।
दुबै एसयूभीमा एयर प्यूरिफायर, रियर विन्डो व्लाइन्ट, टायर प्रेसर मोनिटर, ड्राइभिङ मोड अप्सन, अटो हेडल्याम्प, स्टेरिङ एड्जस्ट, कनेक्ट फिचर, पानारोनीक सनरुफ, पार्किङ क्यामेरा, पार्किङ सेन्सर, ६ वटासम्म एयरव्याग, एबीएस, इबीडी र इएससी जस्ता फिचर रहेका छन् ।

मूल्यको हिसावले क्रेटाको पेट्रोल इन्जिन युक्त एस भेरियन्टको मूल्य ५२ लाख ९६ हजार, एसएक्स ५९ लाख ९६ हजार र एसएक्स सिभिटी ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
तर, सेल्टोसको पेट्रोल इन्जिन युक्त एचटीके प्लस भेरियन्ट मूल्य ५३ लाख ४० हजार र एचटीके भेरियन्टको ४९ लाख ९० हजार रुपैयाँ रहेको छ ।


