काठमाडौं । डट बाइक क्रसफायरको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ । क्रसफायरको अल न्यू एनसी २५० नेपाल आएको हो । यो मोटरसाइकल क्रसफायरको एसजेड २५० आरआरको परिमार्जित मोडल भएको कम्पनीले जनाएको छ ।
डट बाइक नेपालको बाटोका लागि उपयुक्त हुने भएकाले पछिल्लो समय युवाहरुमा डट बाइकको मोह बढ्दै गइरहेको छ । अफरोडमा जान रमाउने राइडरहरुको विश्वास जित्न सफल क्रसफायर धेरै नेपाली युवाहरुको रोजाईमा समेत पदैआएको छ ।
आकर्षक डिजाइन, स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र मनै लोभ्याउने ग्राफिक्सका कारण क्रसफायर धेरैले रोज्ने गरेका हुन् । नेपालका लागि क्रसफायरको आधिकारिक विक्रेता क्लासिक ह्वील्सले नयाँ मोटरसाइकल ल्याएको हो ।
२ सय ५० सीसी इन्जिन क्षमताको एनसी २५० को नेपाली बजार मूल्य ५ लाख ९९ हजार रुपैयाँ रहेको छ । हाल यो मोटरसाइकल बजारमा एउटा रंगमा मात्र उपलब्ध रहेको छ ।


