काठमाडौं । पछिल्लो समय युवापुस्तामा माउन्टेन साइकल प्रतिको आकर्षण बढ्दै गएको छ । एन्डभेन्चर माउन्टेन साइक्लिङ प्रति युवाको आकर्षण बढेसंगै साइकलको बजारपनि बढ्ने क्रममा रहेको छ ।
चालु आर्थिक बर्षको ९ महिनामा करिब १ अर्बको साइकल आयत भएबाट यसमा युवा पुस्ताको क्रेज कस्तो छ भन्ने बुझन सजिलो भएको छ ।
लामो समयदेखि साइकल ब्यवसाय गर्दै आएका ट्रेकर तासी दोर्जे गुरुङ्गका अनुसार रोड साइकलको तुलनामा माउन्टेन साइकल प्रति आकर्षण बढ्दो रहेको छ । स्वास्थ्यको दृष्टिकोणले उत्कृष्ट मानिएको साइक्लिङ्ग प्रति बालबालिका, युवायुवती तथा वृद्धवृद्धाको समेत आकर्षण बढेको छ ।
‘नेपालको सडकमा साइकल लेन छैन । ठूला सवारी साधनले साना सवारी साधनलाई हेप्ने प्रवृत्ति छ । उपत्यका भित्रका सडकमा साइकल चलाउने वातावरणनै छैन । तर, माउन्टेन ट्रेकिङ्गको भने राम्रो सम्भावना बन्दैछ ।’ मेरोअटो डटकमसँगको कुराकानी गुरुङले भने । उनि भन्छन् ‘अधिकांश युवायुवती साइकिलिङ्गको शौख बोकेरै यहाँ आउने गरेका छन् ।’
नेपाली बजारमा ४० हजारदेखि ५ लाखसम्मका साइकल पाउन सकिन्छ । चीन तथा ताइवानबाट भित्राइने जायन्ट, ट्रेक लगायतका ब्राण्डको माग अत्याधिक रहेको ब्यवसायीहरु बताउँछन् ।
साइकलको वजनको आधारमा मुल्य निर्धारण गरिएको हुने ब्यवसायीको भनाइ छ । ‘साइकल जति हलुका भयो, उती महङ्गो पर्छ । मुल्यकै आधारमा सुरक्षाको निर्धारण हुने हो ।’ गुरुङले भने ।
अन्तर्राष्ट्रिय बजारमा न्युनतम साइकलको मुल्य ५ सय ७० डलरबाट सुरु हुन्छ । तर, नेपाल सरकारले साइकलमा मात्र ५ प्रतिशत भन्सार शुल्क लिने गरेको छ त्यसैलेपनि यहाँ माउन्टेन साइकलहरु केहि सस्ता छन् ।
कस्तो छनोट गर्ने
साइकलको गुणस्तरलाई आधार बनाएर छनोट गर्नुपर्छ । साइकलको ब्रेक, शक, ह्वील, ह्यान्डल, बडीको आधारमा साइकलको गुणस्तर निर्धारण गर्ने गरिन्छ । साइकलमा लगाइएको कार्बन फाइबरको मात्राले यसको वजन निर्धारण गर्छ । वजनको आधारमा नै साइकलको मुल्य तथा गुणस्तर मापन गरिन्छ ।
व्यवसायी तथा ट्रेकर गुरुङ वातावरण, स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले साइकलको प्रयोगमा जोड दिनुपर्ने बताउँछन् ।
नेपाल सरकारले निर्माण गर्ने अधिकांश राजमार्गमा साइकल लेनको निर्माण गरे इन्धन प्रयोग हुने सवारीको मात्रासँगै प्रदुषण पनि घट्ने गुरुङको भनाइ छ ।