दशैंमा स्कीम कुर्नेलाई महंगो पर्ने भयो मोटरसाइकल

काठमाडौं । दशैंको अफरमा मोटरसाइकल तथा स्कुटर किन्छु भन्ने ग्राहकलाई मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीले निरास बनाएका छन् । कम्पनीहरुले केही दिनअघि ल्याएको अफरको तुलनामा कम छुटको स्कीम ल्याएर दशैंमा मोटरसाइकल तथा स्कुट किन्छु भन्ने ग्राहकलाई कम्पनीहरुले निरास बनाएका हुन् ।

अहिले बजाज, टीभीएस र सुजुकीले स्कीम संचालनमा ल्याइसकेका छन् भने यामाहा, हीरो, होन्डा लगायतका कम्पनीहरुले नयाँ अफर ल्याउने तयारी गरिरहेका छन् ।

अहिलेसम्म अफर ल्याएका कम्पनीहरुले लकडाउन पछिको तुलनामा कम छुट सहितको स्कीम ल्याएका छन् । यसले दशैंमा राम्रो अफर कुरेर बसेका ग्राहकलाई निरास बनाएको छ ।

लकडाउन खुकुलो भएपछि असारमा कम्पनीहरुले ल्याएको स्कीम निकै आक्रमक थियो । तर, अहिले ल्याएको अफरमा दिने छुट रकम कम्पनीहरुले कटौती गरेका छन् । भने मूल्यपनि बढाएका छन् ।

भातरमा पनि मोटरसाइकलहरुको मूल्य लकडाउनपछि बढेको भन्दै आधिकारीक बिक्रेता कम्पनीहरु नेपालमा पनि २ हजारदेखि ५ हजारसम्म एउटा मोटरसाइकलमा मूल्य बढाएका छन् । यसले दशैंमा मोटरसाइकल किन्नेले महंगो मूल्य तिर्नु पर्ने भएको छ ।

अब कुरा गरौं कम्पनीहरुले ल्याएको अफरको । सुजुकीले यसअघि ल्याएको हरेक मोटरसाइकलको खरिदमा १५ हजार नगद छुट दिने योजना यसपटक घटाएको छ । कम्पनीले नयाँ अफरमा १२ हजार मात्रै छुट हुने जनाएको छ । यसअघिको तुलनामा करिब ५ हजार रुपैयाँले मोटरसाइकलको मूल्य बढाएको सुजुकीले ३ हजार नगद छुट घटाएको छ । यसले ग्राहकलाई लकडाउनको तुलनामा ८ हजार बढी तिर्नु पर्ने भएको छ ।

त्यसैगरि बजाजले यसअघि ल्याएको स्कीममा १२ हजार नगद छुटको स्कीम ल्याएको थियो । अहिले १० हजार नगद छुटको स्कीम ल्याएको छ । कम्पनीले मोटरसाइकलको मूल्यमा भने २ हजार रुपैयाँले वृद्धि गररेको छ । यसले असार र साउनमा मोटरसाइकल किन्दाभन्दा असोजमा ४ हजार रुपैयाँ बढी तिर्नु पर्ने भएको छ ।

अर्को अफर सार्वजनिक गरेको कम्पनी टीभीएसले पनि नगद छुटमा कटौति गरेको छ । यसअघिको अफरमा मोटरसाइकलमा १२ हजार र स्कुटरमा १० हजार नगद छुट दिएको टीभीएसले केही मोडलमा २ हजारसम्मले मूल्य बढाएको छ भने ३ हजारले छुटमा कटौती गरेको छ । यसले दशैंमा मोटरसाइकल किन्ने ग्राहकले ५ हजार रुपैयाँ बढी खर्चिनु पर्ने भएको छ ।

अन्य कम्पनीले कस्तो ल्याउलान् अफर

ठूलो परिमाणमा मोटरसाइकल बिक्री गर्ने कम्पनीहरु यामाहा र होन्डाले पनि पहिलेको तुलनामा नगद छुट रकम घटाउने अनुमान गर्न सकिन्छ ।

‘हामीले लकडाउनपछि ग्राहकलाई आफ्नो नाफा लगभग पुरै कटौती गरेर स्कीम दिएका थियौं । तर, अब कम्पनीको अवस्थापनि हेर्नु पर्ने भएकाले आपसी छलफलबाटै निश्चित रकम छुट दिने सहमती गरेका छौं । सायद सबै कम्पनीले उस्तै नगद छुटको स्कीम ल्याउँछन् होला’, एक मोटरसाइकल बिक्रेताले मेरोअटोसँग भने ।

उनको भनाईलाई आधार मान्ने हो भने अन्य धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनीले पनि अहिले ल्याएका कम्पनीको भन्दा धेरै छुट दिने छैनन् ।


Back_to_top