बजाज, टीभीएस र यामाहाले ल्याए दशैं स्कीम, कुन कम्पनीको कस्तो

काठमाडौं । दशैं नजिकिदै गर्दा मोटरसाइकल कम्पनीले स्कीम सार्वजनिक गर्न सुरु गरेका छन् । नेपाली बजारमा सबैभन्दा धेरै मोटरसाइकल विक्री गर्ने मध्यका तीन कम्पनीले दशैं स्कीम सार्वजनिक गरिसकेका छन् ।

हालसम्म दशैं स्कीम सार्वजनिक गर्नेमा बजाज, टीभीएस र यामाहा मोटरसाइकल कम्पनी रहेको छन् । यी तीनै कम्पनीले एकै प्रकारका स्कीम ल्याएका छन् । हाल स्कीम ल्याएका मध्य बजाजले सबैभन्दा धेरै (कम्तीमा) १० हजार नगद छुट दिएको छ ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘६ प्राइजमा सुपरराइज’ स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले मोटरसाइकल नकिन्दैदेखि किनेपछि, दैनिक, हरेक हप्ता, हरेक महिना र बम्पर प्राइज गरेर छ पटक उपहार जित्नसक्ने योजना ल्याएको हो ।

जगदम्बा मोटर्सको स्कीममा नकिन्दै १ लाखसम्म, किनेपछि १० लाखसम्म, दैनिक रियलमी सी २० स्मार्टफोन, हरेक हप्ता मोटरसाइकल किने बराबरको १०० प्रतिशत क्यासव्याक, हरेक महिना एक जनालाई अपाचे आरआर ३१० र बम्पर उपहारमा प्रोटोन सागा कार दिने योजना ल्याएको हो ।

उक्त उपहार योजनाको विजेता घोषणा लक्ड्र मार्फत गर्ने कम्पनीले जनाएको छ । लक्की ड्र कार्यक्रम हरेक शुक्रबार हिमालयन टेलिभिजनबाट प्रशारण हुने छ ।

यामाहा स्कुटर तथा मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेनले दशैं अफर सार्वजनिक गरेको हो ।

कम्पनीले ‘रेस फर दि एस’ नामक दशैं अफर ल्याएको छ । यो अफरमा ग्राहक नगद छुटदेखि १२ तोला सुनसम्म जित्न सक्नेछन् ।

दशैं स्कीम अन्तर्गत यामाहाको कुनैपनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै लक्की ड्र मार्फत हरेक हप्ता एक जनाले ४ तोला सुनको तास जित्न सक्नेछन् । त्यसैगरी बम्परमा एकजना ग्राहकले ४ तोला सुनको तीन ओटा तार जित्ने मौका रहेको छ ।

बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले दशैं योजना सार्वजनिक गरेको छ ।

कम्पनीले ‘खुसीको तीन डोज’ फेस्टिभ स्कीम ल्याएको हो । यो योजनामा ग्राहकले बजाजका मोटरसाइक खरिद गर्दा तीन पटकसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकले मोटरसाइकल खरिद गर्नु अघि नै १० हजारसम्म नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै खरिद गर्ने क्रममा नै १ लाखसम्म नगद र खरिद गरेपश्चात् बम्पर उपहार स्वरुप १० लाखसम्म जित्न सक्ने छन् ।

हरेक महिनाको अन्त्यमा लक्की ड्रमार्फत १ जना ग्राहकले १० लाख रुपैयाँ जित्न सक्नेछन् । या योजना तिहारसम्म चल्ने कम्पनीले जनाएको छ ।

ग्राहकले यो योजना देशभर रहेको बजाजको आधिकारिक शोरुममा प्राप्त गर्न सक्नेछन् ।

 


Back_to_top