म्याग्नाइट र काइगरले परिवर्तन गरेको कार बजार, पन्च र क्यास्परले अर्को धक्का दिने

काठमाडौं । अहिले बजारमा निसान म्याग्नाइट र रेनो काइगरको विक्री आश्चर्यजनकरुपमा बढी रहेको छ । सुरुमा यी दुबै गाडी सब फोर मिटर सेग्मेन्टमा आउँदा धेरैलाई यसको विक्री राम्रो हुने अपेक्षा थिएन । तर, यी दुबै गाडीले बजारमा राम्रो विक्री पाइरहेका छन् ।

निसान म्याग्नाइट यो सेग्मेन्टमै सर्वाधिक विक्री हुने गाडीको बाटोमा अगाडि बढेको देखिन्छ भने काइगर केही महिनापछि नेपाल आएको हो । अहिले काइगरको विक्री पनि रफ्तारमा बढी रहेको देखिन्छ ।

दुबै गाडी भारतमा एउटै फ्याट्रीमा उत्पादन भएका हुन् भने यी दुबै गाडीमा समान १.० लिटर क्षमताको नेचुरल्ली एस्पिरेडेड र १.० लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । यद्यपी रेनोले टर्बो इन्जिन भएको गाडी नेपाल ल्याएको छैन ।

गिरबक्समा पनि दुई अप्सन दुई वटै गाडीमा उपलब्ध भएपनि निसानले अटोमेटीक गियरबक्समा म्याग्नाइटलाई नेपाल ल्याएको छैन भने रेनोले ल्याएको छ । यी दुबै गाडीको अर्को मुख्य पाटो भनेको भेरियन्ट हो । निसानले ११ र रेनोले १३ भेरियन्टमा यसलाई विक्री गर्दै आएको छ ।

मूल्यको हिसावले रेनो काइगर सस्तो रहेको छ । यसलाई एड्भान्स अटोमोवाइलले २८ लाख ४९ हजार सुरुवाती मूल्यदेखि ३८ लाख १ हजारसम्म मूल्य कायम गरेर विक्री गर्दै आएको छ । यति धेरै भेरियन्टमा उपलब्ध रहेकाले ग्राहकले आफ्नो बजेट अनुसार काइगरको उपयुक्त भेरियन्ट छनोट गर्न सक्नेछन् ।

निसान म्याग्नाइट पनि मूल्यको हिसावले धेरै महंगो लाग्दैन । पायोनियर मोटोकर्पले यसको सुरुवाती भेरियन्टको मूल्य ३० लाख ९९ हजारदेखि टप भेरियन्टको ४५ लाख ४९ हजारसम्म निर्धारण गरेर विक्री गर्दै आएको छ ।

मुख्य प्रतिस्पर्धा डिजाइनमा

यी दुबै सब फोर मिटर एसयूभीको मुख्य फरक भनेको बाहिरी बनोट हो । जापानीज डिजाइन र यूरोपियन डिजाइनको कारण यी दुबै कार फरक लुक्समा पाउन सकिन्छ ।

निसान नेपालमा विगत ३८ वर्षदेखि सफल ब्राण्डको रुपमा पहिचान बनाउन सफल हुँदै आएको छ । भारतीय उत्पादन भन्दा पहिला जापान र थाइल्याण्डबाट आयात हुँदै आएको निसानले राम्रो ब्राण्ड भ्यालु क्रियट गर्न सफल भएको थियो । त्यसैको निरन्तरता भारतीय उत्पादनले पनि पाइरहेको छ ।

रेनो यूरोपको चर्चित ब्राण्डमा पर्छ । यसले भारतीय बजारमा प्रबेश गरेसँगै नेपालमा पनि चर्चा कमाउँदै आएको थियो । अहिले नेपालमा राम्रै संख्यामा गाडी विक्री गर्दै आएको रेनोको क्वीड, डस्टर र ट्राइबर सफल मोडलमा पर्छन् । त्यसबाट उत्साहीत ब्राण्डले काइगर नेपाल ल्याएको हो । सुरुवाती दिनदेखि नै यसको विक्री राम्रो संख्यामा भइरहेको छ ।

थपिदै प्रतिस्पर्धी

यी दुबै गाडी सब फोर मिटर सेग्मेन्टमा नै आएको भएपनि मारुती सुजुकी ब्रेजा, किया सोनेट, हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० भन्दा इन्जिन, पावर र टर्कमा सानो लाग्छ ।

यी दुबै मोडललाई मूल्यका हिसावले प्रतिस्पर्धा गर्न टाटा पन्च र हुन्डाई क्यास्पर बजारमा आउने तयारीमा छन् । अहिले बजारमा कम मूल्यमा एसयूभी खोज्नेहरुले यसलाई खरिद गरिरहेको अवस्था छ । यस्तोमा टाटा र हुन्डाईको नयाँ मोडल आएसँगै साना एसयूभी सेग्मेन्टमा थप प्रतिस्पर्धा हुने देखिन्छ ।

टाटाले पन्चमा १.२ लिटर इन्जिन दिने छ । मूल्यको हिसावले म्याग्नाइटभन्दा कम मूल्यमा पन्च आउने निश्चित मान्न सकिन्छ । त्यस्तै हुन्डाई क्यास्पर पनि कोरियामा कम्पनीले सार्वजनिक गरिसकेको छ । क्यास्परमा हुन्डाईले १.० लिटर इन्जिन दिएको छ ।

पन्च र क्यास्पर दुबै कार नेपाली बजारमा सन् २०२२ को दोस्रो क्वाटरसम्ममा आइपुग्ने अनुमान गर्न सकिन्छ । यी दुई गाडी बजारमा आएसँगै म्याग्नाइट र काइगरलाई दवाव दिने अनुमान गर्न सकिन्छ । यी गाडीले नेपालमा ह्याचव्याक सेग्मेन्टलाई नै अफ्ठ्यारो अवस्थामा पुर्याउने देखिन्छ ।


Back_to_top