महिन्द्राले गर्‍यो उत्पादन कटौती, दशैंमा गाडी किन्नेललाई अधिकांश कम्पनीले गाडी दिन नसक्ने

काठमाडौं । चिप्सको समस्या बढ्दै गएसँगै महिन्द्राले आफ्नो सेप्टेम्बरको उत्पादन २० देखि २५ प्रतिशतसम्मले घटाउने घोषणा गरेको छ । कम्पनीले आधिकारीक घोषणा गरेरै उत्पादन कटाउने जनाएको हो ।

विश्वव्यापी कार उत्पादकको टाउको दुखाई बन्दै आएको चिप्स सर्टेजको मारमा भारतमा संचालित कम्पनीहरु पनि पर्दै आएका छन् ।

चाडपर्वको समयमा कारको उच्च माग हुने तर उत्पादन घटाउनु पर्ने अवस्थाले अधिकांश कम्पनीहरु उत्पादन कटौती गर्नु पर्ने अवस्था सृजना भएको छ ।

नेपालमा सबैभन्दा धेरै गाडी विक्री हुने समयनै भदौ, असोज र कार्तिक महिनालाई लिने गरिन्छ । विशेषत नेपालमा मनाइने ठूला चाडपर्व दशैं, तिहार र छठ यही समयमा पर्ने भएकाले सवारी साधनको विक्री पनि उच्च रहने गरेको पाइन्छ ।

यो समयमा वार्षिक विक्रीको ४० प्रतिशत विक्री हुने भएकोले पनि सबै कम्पनीलाई ग्राहकले छनोट गरे अनुसारको मोडल दिन समस्या हुन सक्ने देखिएको हो ।

महिन्द्राका गाडी लामो समयदेखि बुकिङ गरेर बसेका ग्राहकले समयमा गाडी पाउने अवस्था छैन । महिन्द्राका गाडी अग्नी इनकर्पोरेटप्रलिले विक्री गर्दै आएको छ ।

‘हामी सप्लाई समस्या समाधान गर्न कोशिस गरिरहेका छौं । तर, बजारमा चिप्सको सर्टेज भएकोले उत्पादन बढेको छैन । विशेष गरेर एसयूभीको सप्लाईमा समस्या छ’, अग्नी स्रोतले भन्यो ।

अहिले गाडीको आयातमा टाटा, हुन्डाई, मारुती सुजुकी, फोर्ड जस्ता कम्पनीमा पनि समस्या देखिएको छ ।

‘बजारमा माग छ तर, ग्राहकले खोजेको जस्तै भेरियन्ट र कलरमा पनि गाडी दिन नसकिने अवस्था आएको छ । यसले धेरै व्यापार हुने समयमा नै गाडी नहुँदा समस्या हुने देखिएको छ’, एक कार विक्रेताले भने ।

कुनै पनि ब्राण्डका गाडी विक्री गर्ने विक्रेताले सिधै गाडी दिन सक्ने अवस्था छैन भन्न सकेका छैनन् । तर, अधिकांश कम्पनीसँग गाडी बुकिङ गरेर बसेका विक्रेताको संख्या भने धेरै छन् ।


Back_to_top