तपाईलाई थाहा छ, कारको ड्यासबोर्डमा बल्ने विभिन्न लाइटले के सङ्केत गर्छ

काठमाडौं । आजकल टेलिभिजन वा मोवाइल फोनमात्र नभई कार पनि स्मार्ट हुन थालेका छन् । तपाईंको कारले आजकाल आफैँ कारमा हुनसक्ने खराबीको जानकारी तपाईंलाई पहिले नै दिने गरेको छ । जसको सहयोगले तपाईंको यात्रा सुखद् र जोखिमबाट मुक्त हुनेछ ।

यसका लागि कार चालकले ड्यासबोर्डमा रहेका धेरै लाइट्स र आइकनहरूमा राम्रो ध्यान दिन जरुरी छ । किनकी ती आइकनहरूको रङ्गको परिवर्तनले कारमा हुनसक्ने समस्याहरूको बारेमा सजक गराउनेछ ।

मुख्यतया वार्निङ्ग–लाइटहरू रातो, पहेँलो र हरियो रङ्गमा रहेको हुन्छ, जसले निम्न कुराहरू जनाउनेछ ।

रातो रङ्ग

रातो रङ्गको मतलब कारमा यस्तो समस्या छ, जसको समाधान तुरुन्तै गर्नुपर्ने हुन्छ । रातो रङ्गको इन्डिकेटर बलिसकेपछि थप ड्राइभिङ्ग गर्नु हँुदैन ।

पहेलो–अरेन्ज रङ्ग

पहेँलो वा अरेन्ज रङ्गको मतलव सम्बन्धित सिस्टमले काम त गरिरहेको छ, तर चाँडै सो सिस्टम वा पार्टस चेक–जाँच गर्न जरुरी छ भन्ने हो ।

हरियो रङ्ग

हरियो कलर प्रायः केशमा सिस्टम सहीढङ्गले चलिरहेको छ भन्ने अर्थ दिन प्रयोग गरिएको हुन्छ । यस्ता लाइट बलेको समयमा गाडी चलाउन केही डराउनुपर्ने छैन ।

१. इन्जिन टेम्प्रेचर वार्निङ्ग

इन्जिन अत्याधिक तातेमा यस्तोखाले सिङ्ग्नल ड्यासबोर्डमा देखा पर्छ । ओभर–हिटिङ्गका कयौँ कारण हुनसक्छ । यस्तोमा तुरुन्त गाडी रोकेर साइड लगाइहाल्नुपर्छ ।

२. स्टेरिङ्ग सिस्टम वार्निङ्ग

स्टेरिङ्गको मेकानिज्मको आधारमा यो वार्निङ्ग–लाइट दुई प्रकारको हुने गरेको छ ।

क. यदि तपाईंको स्टेरिङ्ग हाइड्रोलिक सिस्टमको हो भने यो लाइटको मतलब स्टेरिङ्ग फ्लूडको कमी भएको हो । यदि समयभन्दा अगाडि नै यो लाइट बलेमा सो फ्लूडको टपअप गर्ने र कतै लिकेज छ कि भनेर चेक गर्नुपर्छ ।

ख. त्यस्तै, यदि इलेक्ट्रोनिक स्टेरिङ्ग मेकानिज्म हो भने यो लाइट बल्नेबित्तिकै मेकानिकलाई चेक गराउनुपर्छ । यस्तो अवस्थामा गाडीको स्टेरिङ्ग एकदमै टाइट हुन्छ र स्टेरिङ्ग काट्न पनि निकै गाह्रो हुने गर्छ ।

३. सिट–बेल्ट रिमाइन्डर 

यसमा रातो रङ्ग बलेमा तपाईंले सिटबेल्ट नलगाएको भन्ने बुझाउँछ । गाडी चलाउँदा अगाडि बस्ने चालक र यात्रुले सधैँ सिट–बेल्ट बाँध्नुपर्छ ।

४. डोर–अजार वार्निङ्ग

यो इन्डिकेटरको अर्थ गाडीको ढोका खुल्लै छ अथवा राम्रोसँग लक भएको छैन भन्ने हो ।

५. आयल चेन्ज लाइट

आजकलका गाडीहरूमा आयल चेन्ज लाइटको फिचर दिएको हुन्छ, यस लाइटको मतलब तपाईंको गाडीमा इन्जिनको लुब्रिकेन्ट फेर्ने समय आएको जनाऊ हो । यसले केवल निश्चित समय अथवा ओडोमिटरको रिडिङ्ग गरेर वार्निङ्ग दिने गर्छ । हाम्रो जस्तो सडकमा गाडी गुड्दाभन्दा नगुडेको समयमा धेरै समय गाडीको इन्जिन चल्ने भएकोले यो वार्निङ्ग लाइटलाई कुरेर बस्नु हँुदैन । म्यानूअली चेक गर्ने गर्नुपर्छ ।

६. ब्रेक–सिस्टम लाइट 

यो लाइट तपाईंको गाडीको ह्याण्ड–ब्रेक लगाउँदा बल्ने गर्छ । यदि राम्रोसँग ह्याण्ड–ब्रेक झार्दा पनि यो लाइट बलिरहेमा तपाईंको गाडीमा ब्रेक–फ्लूडको कमी आएको भन्ने बुझिन्छ । आवश्यक प्रेसरभन्दा कम प्रेसर भएपछि यो लाइट बल्ने गर्छ ।

७. पार्किङ्ग ब्रेक–लाइट 

पार्किङ्ग ब्रेक लागिरहँदा यो लाइट–अन हुने गर्छ । गाडी पार्किङ्गबाट झिक्दा पार्किङ्ग–ब्रेक डिस–इन्गेज गर्नका लागि सम्झाउन यो लाइट प्रयोग हुने गर्छ ।

८. एबीएस लाइट

पहेँलो कलरमा यो लाइट बलेमा तपाईंको गाडीको एबीएसमा केही खराबी आएको सङ्केत गर्छ । यस्तो अवस्थामा एबीएस बे्रकिङ्ग सिस्टमको भर नहुन सक्छ । त्यसकारण बढी स्पीडमा ब्रेक नलगाउँदा राम्रो हुन्छ, गाडी स्किड हुनसक्छ ।

९. ब्याट्री अलर्ट–लाइट 

रातो रङ्गमा यो लाइट बलेमा तपाईंको कारको ब्याट्रीको चार्जिङ्ग सिस्टममा केही खराबी भएको हुनसक्छ । यस्तो अवस्थामा गाडी चलाउनु हँुदैन । किनकी गाडीको ब्याट्री केही समयमै डिस्चार्ज हुनसक्छ, जसको कारण तपाईंको यात्रामा समस्या आउन सक्छ ।

१०. आयल प्रेशर–लाइट 

यो लाइटको अर्थ इन्जिन आयालमा कमी भएको वा आयलको सर्कुलेसनमा केही समस्या भएको भन्ने बुझिन्छ । यस्तो अवस्थामा गाडी चलाउनु हुँदैन । इन्जिन नै सिज हुने सम्भावना हुन्छ ।

११. फ्यूल इन्डिकेटर–लाइट

पेहेँलो वा रातो रङ्गमा बल्ने यो लाइटले गाडीमा फ्यूल कम भएको इन्डिकेड गर्छ । पहेँलो रङ्गको अर्थ कम फ्यूल भयोे, चाँडै रि–फ्यूलिङ्ग गर्नु भन्ने हो भने रातो रङ्गमा बलेको अर्थचाहिँ फ्यूल लगभग सकिएको भन्ने बुझिन्छ ।

१२. वासर फ्लूड–लाइट 

यो लाइटको अर्थ वासर–फ्लूडको कमी भएको भन्ने बुझाउँछ ।

१३. ट्याक्सन कन्ट्रोल एक्टीभ–लाइट 

यो लाइट ट्याक्सन कन्ट्रोल सिस्टम एक्टीभ भएको अवस्थामा बल्ने गर्छ । जसको अर्थ तपाईंको कार खराब बाटोमा पनि स्टेवल भएर अगाडि बढ्नेछ भन्ने हो ।

१४. ट्याक्सन कन्ट्रोल वार्निङ्ग–लाइट 

यो लाइटको अर्थ ट्याक्सन कन्ट्रोल सिस्टमले काम नगरेको भन्ने बुझिन्छ । यस्तो अवस्थामा चिप्ला बाटामा गाडी चलाउँदा गाडी स्टेबल नहुन सक्छ ।

१५. टायर प्रेसर मोनिटरिङ्ग–लाइट

आजकल धेरै कारहरूमा गाडीको टायर प्रेसर मोनिटर फिचर दिएको हुन्छ, जसको कार्य चारैवटा टायरको प्रेसर मापन गर्ने हो । टायरको प्रेसर कमी भएमा यो लाइट बल्ने गर्छ ।

१६. हिल डिसेन्ट कन्ट्रोल–लाइट

प्रायः युटिलिटी सेग्मेन्टको हाई–प्रफर्मेन्स कारहरूमा हिल कन्ट्रोल फिचर दिएको हुुन्छ । यो लाइट हिल कन्ट्रोल एक्टीभ भएपछि बल्ने गर्छ ।

१७. हेडलाइट–अन 

गाडीको हेडलाइट–अन हुँदा यो लाइट बल्ने गर्छ । सबै कारहरूमा मिनीमम यो लाइट हुने गर्छ ।

१७. हाई–बिम लाइट–अन 

हेड–लाइटमा हुने दुईवटा अप्सनहरूमध्ये हाई–बिममा बल्दा यो लाइट–अन हुने गर्छ । यो सबै गाडीमा निलो रङ्गको हुने गर्छ ।

१८. फग लाइट्स–अन 

यो सिङ्ग्नल गाडीको फग–लाइट–अन गरेपछि बल्ने गर्छ । फग–लाइट बाहिर कुहिरो वा अत्याधिक धूलो भएमा बाल्ने गरिन्छ ।

१९. क्रूज कन्ट्रोल–लाइट

सानो स्पिडोमिटरजस्तो देखिने यो लाइट हरियो रङ्गमा बल्ने गर्छ । क्रूज  कन्ट्रोल मोड–एक्टीभ हुँदा यो लाइट बल्छ ।

२०. पार्किङ्ग असिस्ट–वार्निङ्ग

पार्किङ्ग असिस्ट सिस्टम लगाएको गाडीमा यो लाइट पहेँलो कलरको बल्ने गर्छ ।

२१. स्टार्ट–स्टप सिस्टम–लाइट

यो लाइट पहेँलो बलेमा सिस्टममा केही खरावी भएको जनाउछ भने हरियो बलेमा सिस्टम सुचारु रहेको जनाउँछ ।

२२. डिजेल–ग्लो प्लग–वार्निङ्ग

डिजेल कारमा मात्र हुने यो वार्निङ्ग लाइटले ग्लो–प्लगको वार्म–अप भएमा यो लाइट बल्ने गर्छ । यो वार्निङ्ग–लाइट बन्द भएपछिमात्र गाडी ड्राइभ गर्नुपर्छ ।

२३. डिजेल डीपीएफ–लाइट 

यो लाइटको अर्थ तपाईंको डिजेल इन्जिनको फिल्टर बिग्रिनु हो । यो लाइट बल्नेबित्तिकै फिल्टर फेर्नुपर्छ ।

२४. एयरब्याग–फल्ट 

यसलाई एसआरएल (सप्लिमेन्ट रिस्ट्रेन्ट सिस्टम) लाइट पनि भनिन्छ । यो बल्नुको कारण एयरव्याग सिस्टमले काम गरेको छैन भन्ने बुझिन्छ । यस्तो अवस्थामा गाडीलाई छिट्टै सर्भिस सेन्टरमा लग्नुपर्छ ।


Back_to_top