काठमाडौं । अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिड्नले एशियाली बजारलाई मध्यनजर गर्दै सानो सीसीको मोटरसाइकल निर्माण गर्ने भएको हो । कम्पनीले निर्माण गर्ने भनिएको ३०० सीसी क्रुजर मोटरसाइकलको हालैमात्र इन्टरनेटमा तस्विर सार्वजनिक भएको छ ।
हार्लेले २०१९ मा चिनियाँ मोटरसाइकल कम्पनी कियानजियागसँगको सहकार्यमा मोटरसाइकल ल्याउने घोषणा गरेको थियो । कियानजियका इटालियन मोटरसाइकल बेनेलीकोको समेत लगानी रहेको छ ।
हाल सार्वजनिक भएको हार्लेको मोटरसाइकल बेनेली ३०२ एसमा आधारित रहेको छ । हार्ले डेभिड्शनले हालै मात्र भारतीय मोटरसाइकल कम्पनी हिरोसँग सहकार्य सुरु गरेको छ । यससँगै यो मोटरसाइकल भारतीय बजारमा छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । यद्यपी दुबै कम्पनीले हालसम्म आधिकारिक रुपमा यसको घोषणा भने गरेका छैनन् ।
सार्वजनिक भएको तस्विर अनुसार यो मोटरसाइकल हार्ले आइरन ८८३ बाट प्रेरित डिजाइनमा निर्माण हुने छ । यो मोटरसाइकलमा २९६ सीसी भी ट्वीन इन्जिन रहेने छ । यसले ३० हर्स पावर प्रदान गर्ने क्षमता राख्छ । यसमा वाटर कुल्ड ओभरहेड क्याम, भी ट्वीन मोटर, अपसाइड डाउन फर्क, राउन्ड शेप हेडल्याम्प जस्ता फिचर रहेको छ । यसको टप स्पीड १३० किलोमिटर प्रतिघन्टा रहने छ ।
यो मोटरसाइकल फुल ब्ल्याक थेममा निर्माण गरिने रिपोर्टमा उल्लेख छ । हार्लेले यसभन्दा अघि पनि ब्ल्याक थेममा मोटरसाइकल निर्माण गरिसकेको छ ।
विभिन्न मिडियाले सार्वजनिक गरेको रिपोर्टका अनुसार यसका फ्रन्टमा १६ इन्च र रियरमा १५ इन्चको अलोय ह्वील रहने छ । स्टायन्डर्ड डबल च्यानल एबीएससहित यो बजारमा आउने छ ।
नेपाली बजारमा हार्लेको विक्री अन्योलमा परेको छ । हार्लेको काठमाडौं शोरुम लकडाउन पश्चात् बन्द गरिएको छ । नेपालमा पूर्णरुमा बन्द भएको वा पुनः विक्री सुरु हुने भन्ने विषयमा आधिकारिक जानकारी भने आएको छैन ।


