कलंकी-वसुन्धारा सडक विस्तारमा कर छुट दिने निर्णय

चीन सरकारले अनुदानमा बनाइदिएको कोटेश्वर कलंकी सडक ।

काठमाडौं । सरकारले चक्रपथ दोस्रो खण्ड (कलंकी-वसुन्धारा) सडक विस्तारका क्रममा लाग्ने कर छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कलंकी-वसुन्धारा सडक विस्तारका क्रममा प्रयोग हुने निर्माण सामग्री र चीनबाट आयात हुने उपकरणसहितका सामग्रीमा भन्सारमा लाग्ने कर छुट दिने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको सहमति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो निर्णय गरेको हो ।

यससँगै ८ वर्षदेखि कुरामै सीमित उक्त सडक विस्तारको बाटो खुलेको छ । यो सडक चीनले अनुदानमा बनाइदिन लागेको हो ।

यसअघि चिनियाँ पक्षले निर्माणाको क्रममा प्रयोग हुने सामान र उपकरणमा कर छुट दिन माग गर्दै आएको थियो । तर, मन्त्रिपरिषद्बाट निर्णय हुन नसक्दा काम अघि बढ्न सकेको थियो ।

कलंकीदेखि वसुन्धारासम्म ८.२ किलोमिटर सडक विस्तार गर्न चीनसँग सन् २०१८ मै जीटूजी सम्झौता भएको थियो । तर, कोरोना महामारी, साइट क्लियरेन्स, कर छुट सम्बन्धी निर्णयमा ढिलाइ लगायत कारणले काम सुरू हुन सकेको थिएन ।

अब मन्त्रिपरिषद्का्े निर्णय जानकारी आएपछि यो सडक विस्तार अघि बढाइने सडक विभागले जनाएको छ । सम्भवतः निर्वाचनपछि दुई देशका अधिकारीहरूले हस्ताक्षर गरी सडक निर्माण प्रक्रिया अघि बढाइने विभागको भनाइ छ ।

चिनियाँ प्राविधिकले यो सडकको डिजाइन तयार पारिसकेका छन् । यद्यपि, विभागबाट स्वीकृति हुन बाँकी छ । २०८२ वैशाखमा आएको चिनियाँ प्राविधिक टोलिले साढे दुई महिना लगाएर सडकको सर्भे गरी डिजाइन तयार गरेको थियो ।

विभागबाट डिजाइन स्वीकृत भएपछि चिनियाँ पक्षले टेन्डर प्रक्रिया सुरू गर्नेछ । निर्माण कम्पनी र परामर्शदाता छनोट चीनले नै गर्नेछ । सबै प्रक्रिया सकी चालु आव भित्रै सडक विस्तार सुरू हुने विभागको विश्वास छ ।

कलंकी-वसुन्धारा सडक यसअघि चीनले बनाइदिएको कोटेश्वर कलंकी सडक जस्तै ८ लेन फराकिलो को हुनेछ । जसमा मुख्य सडक ४ लेन र दाँयाबाँया २/२ लेनको सर्भिस लेन रहने छ । त्यसपछि दुवैतर्फ फूटपाथ निर्माण हुनेछ ।

चिनियाँ पक्षले यसअघि कोटेश्वर-कलंकी सडकमा देखिएका त्रुटि सच्याएर डिजाइन गरेको छ । डिजाइन अनुसार ढुंगेधारामा एउटा पक्की पुल बन्नेछ । त्यसैगरी, सीतापाइला, बालाजु र वसुन्धरामा तीन वटा अपांगमैत्री आकाशे पुल बन्ने छन् ।

कोटेश्वर-कलंकी १० किमी सडक चीनले २०६९ मा सुरू गरी २०७५ मा सम्पन्न गरेको थियो । चक्रपथको दोस्रो खण्डको काममा चीनले ढिलाइ गरेपछि तेस्रोखण्ड (महाराजगंज-धोवीखोलापुल) विस्तार भने नेपाल सरकार आफैंले सुरू गरेको छ । हाल पहिलो चरणमा महाराजगंज-चप्पल काराखाना ७०० मिटरकाे ठेक्का लागि धमाधम काम भइरहेको छ । हालसम्म यो सडक निर्माणको काम करिब ७० प्रतिशत सकिएको छ ।


Back_to_top