७ लाख ५० हजारले मूल्य घटेको ह्याचब्याक कार

काठमाडौं । नेपाली बजारमा ४७ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु भएको ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ‘ओरा-०३’ ह्याचब्याक कारको मूल्य ७ लाख ५० हजार रुपैयाँले घटाएर बिक्री भइरहेको छ ।

भिजी इम्पेक्स आधिकारीक बिक्रेता रहेको ग्रेटवाल मोटर्सको पहिलो इलेक्ट्रीक मोडलको रुपमा उपलब्ध ओरा-०३ फ्यामली ह्याचव्याक कार अहिले ३९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । रेट्रो क्लासिक डिजाइनमा तयार भएको ओरा-०३ फिचर लोडेड मोडल हो ।

कम्पनीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मूल्य घटाएको थियो । अफर मूल्य भनिएपनि अहिले गाडी किन्नेले पनि ३९ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । फक्सवागेन विटलको झल्को दिने ओरा-०३ मा ४७.७८ किलोवाट आवरको लिथियम आयन फस्फेट (एलएफपी) ब्याट्री छ ।

उक्त ब्याट्रीलाई सिंगल चार्ज गरेपछि ४०० किलोमिटर गाडी चलाउन सकिने कम्पनीको दावी छ । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको मतलव कारले अधिकतम १३३ हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

ह्याचव्याक डिजाइनमा बनेको भएता पनि यो कारको लम्बाइ ४२३५ एमएम, चौडाइ १८२५ एमएम, उचाइ १६०३ एमएम छ । यसको ह्वीलवेस भने २६५० एमएम लामो छ ।

कारलाई प्रिमियम बनाउन यसको क्याविनलाई उत्कृष्ट फिचरले भरिपूर्ण बनाइएको छ । दुुई वटा १०.२५ इन्चको डिस्प्ले प्यानल, वायरले मोवाइल चार्जिङ प्याड, सिक्सवे पावर एड्जस्ट ड्राइभर सिट, अटोडिमीङ रियरभ्यू मिरर, ३६० डिग्री क्यामरा पाउन सकिन्छ ।

कम्फर्ट र कन्भेनियन्सका लागि ओरा-०३ मा ठूलो र फराकिलो क्याविन, पानोरामिक सनरुफ, लेदर सिट, सिक्स-वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ फरक ड्राइभिङ मोड दिएको छ ।

सुरक्षाको लागि कम्पनीले यसमा ७ वटा एयरव्याग, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल , ट्र्याक्सन कन्ट्रोल सिस्टम , इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा फिचरहरु दिएको छ ।

क्लासिक डिजाइनमा तयार भएको ओरा-०३ मा १८ इन्चको अलोय ह्वील, एलइडी डीआएल, प्रोजेक्टर हेड ल्याम्प, एलइडी टेल ल्याम्प पाउन सकिन्छ ।


Back_to_top