बाहिर आयो आयोनको नयाँ एसयूभी ‘एन-६०’को तस्बिर

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड जीएसी आयोनले नयाँ एसयूभी ‘एन-६०’को तस्बिर सार्वजनिक गरेको छ । नयाँ तस्बिर बाहिर आएसँगै कम्पनीले एन-६० मार्फत आफ्नो एसयूभी लाइनअपमा नयाँ डिजाइन प्रस्तुत गरेको चर्चा सुरू भएको हो ।

सन् २०२६ मार्च महिनामा प्रि-सेल्स सुरू गर्ने तयारीमा रहेको एन-६० एसयूभी अटोमोटिभ डिजाइनर बेनोइट ज्याकबको नेतृत्वमा बनेको पहिलो मोडल हो । ज्याकबले यसअघि बीएमडब्लूका थुप्रै मोडल डिजाइनको नेतृत्व गरेका थिए । उनले बीएमडब्लू आई थ्री, आई एट, बीएमडब्लू फोर सिरिज, अउडी ए फाइभ स्पोर्टब्याक, बीएमडब्लू फाइभ सिरिज जस्ता चर्चित मोडल डिजाइन गरेका थिए ।

अहिले बाहिर आएको डिजाइन स्केच अनुसार नयाँ एन-६० मोडल निकै क्लिन डिजाइनमा बन्नेछ । अगाडि र पछाडि नै आयोन ब्राण्डको लोगो प्रस्ट देखिन्छ । साइड प्रोफाइल निकै सरल छ । कर्टहरूको प्रयोग एकदमै कम छ ।

साइज पनि अहिले निकै चल्तीमा उक्लेको बराबर नै छ । लम्बाइ ४६१५ एमएम, चौडाइ १८६० एमएम र उचाइ १६७३ एमएम हुनेछ । ह्वीलबेस भने २७७५ एमएम लामो रहने छ । यसको ग्राउण्ड क्लियरेन्सको विषयमा कुनै जानकारी बाहिर आएको छैन ।

लिथियम आयन फस्फेट ब्याट्री उपलब्ध रहने एसयूभीमा ११० र १६५ किलोवाटको फ्रन्ट ह्वील मोटर रहने छ । ब्याट्री साइजको बिषयमा कुनै जानकारी बाहिर नआए पनि रेन्ज भने ६३० किलोमिटरसम्म रहने बताइएको छ ।

नयाँ एसयूभीमा ५ जनाले यात्रा गर्न सक्नेछन् । मसाज सिट, लाइडार, एडास, एयरब्याग जस्ता सुरक्षामा मानक मानिने फिचरको पनि कुनै कमी हुने छैन ।

नेपाली बजारमा सीजी मोटर्सले आधिकारिक बिक्रेताको रूपमा आयोन ब्राण्डका विद्युतीय कार उपलब्ध गराउँदै आएको छ । कम्पनीले छिट्टै आयोन यूटी नेपालमा बिक्री थाल्दैछ । चीनमा बिक्री सुरू भएको केही महिनापछि एन-६० पनि नेपाल आउन सक्ने मोडलमा पर्छ ।


Back_to_top