दुई नयाँ ईभी नेपाल ल्याउँदै दीपल, मूल्य आकर्षक रहने

काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले सन् २०२६ मा दुई नयाँ मोडल नेपाल ल्याउने भएको छ । कम्पनीले इन्ट्री मोडलको रुपमा ह्याचव्याक र नयाँ एसयूभी ल्याउने भएको हो ।

‘सन् २०२६ मा दुई मोडल बजारमा ल्याउने तयारी गरिरहेका छौं । दुबै मोडल आगामी चाडपर्व अगाडि नै बिक्री सुरु गर्ने तयारीमा छौं’, एमएडब्लू वृद्धि स्रोतले भन्यो ।

कम्पनी स्रोतका अनुसार आगामी मार्च अन्तिमसम्ममा दीपल एस-०३ एसयूभी परीक्षणको लागि आउने छ । केही महिनाको परीक्षणपछि कम्पनीले बिक्री थाल्नेछ ।

आगामी सेप्टेम्बरमा आयोजना हुने अटो शोमा चांगान लुमिन मिनी कारको पाँच ढोके मोडल बजारमा ल्याउने कम्पनीको भनाइ छ । यसअघि तीन ढोका भएको लुमिन मिनी कार बजारमा आएको थियो । तर, त्यसले राम्रो बजार पाउन सकेको थिएन ।

मूल्यका हिसाबले पनि यी दुबै गाडी कम्पनीको बजेट फ्रेण्डली मोडल हुनेछ । लुमिनको मूल्य २५ लाख हाराहारीबाटै सुरु हुन सक्नेछ । साथै, दीपल एस-०३ एसयूभी पनि ५० लाखभन्दा कम मूल्यमा नेपाल आउन अनुमान गर्न सकिन्छ ।

एमएडब्लू वृद्धिले दुई वर्ष अगाडि नेपाली बजारमा बिक्री सुरु भएको दीपलका एसयूभी निकै राम्रो संख्यामा बिक्री हुँदै आएका छन् । दीपल एस-०७ नेपालको लागि ‘ट्रेन्ड’ परिवर्तन गर्ने मोडल बनेको थियो ।

त्यसैगरी, एल-०७ सेडान, इ-०७ ट्रान्सफर्मर एसयूभी र एस-०५ एसयूभी बजारमा अलग छाप छाड्न सफल मोडल हुन् । एस-०५ एसयूभी अहिले बजारको सफल मोडलमा पर्छ ।

थप दुई मोडलसँगै दीपलको प्रोडक्ट लाइनअप निकै बलियो हुनेछ । मूल्यका हिसावले पनि २५ लाखदेखि २ करोड मूल्यसम्मका गाडी दीपल ब्राण्डमा बिक्रीको लागि उपलब्ध हुनेछ ।


Back_to_top