बीवाइडीले १० हजार चार्जिङ साइकलको ब्याट्री उत्पादन गर्दै

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले ब्याट्री उत्पादनमा नयाँ सफलता हात पारेको दाबी गरेको छ । कम्पनीले ‘सल्फाइड सोलिड स्टेट ब्याट्री’मा सफलता मिलेको र त्यसले १० हजार चार्जिङ साइकल प्रदान गर्ने बताएको हो ।

बीवाइडीको इन्भेस्टर रिलेसन डिपार्टका अनुसार सोलिड स्टेट ब्याट्रीमा धेरै किसिमको उपलब्धि हासिल भइरहेको जनाएको छ । साथै, सल्फाइड इलेक्ट्रोलाइटमा आफूहरूको मुख्य ध्यान रहेको उक्त विभागले जनाएको छ ।

कम्पनीका अनुसार सल्फाइड सोलिड स्टेट ब्याट्रीको अलवा कम्पनीले तेस्रो पुस्ताको सोडिम आयन प्लेटफर्ममा पनि काम भइरहेको जनाएको छ ।

यसअघि बाहिर आएका विभिन्न रिपोर्टलाई आधार मान्ने हो भने बीवाइडीले सन् २०२७ बाट सोलिड स्टेट ब्याट्रीको उत्पादन थाल्नेछ । तर, यसको ठूलो परिमाणमा उत्पादन भने सन् २०३० पछि मात्रै हुने बताइएको छ ।

बीवाइडीले पछिल्ला दिनमा ब्याट्रीको लामो ‘लाइफ’ र तीव्र चार्जिङ सपोर्टलाई केन्द्रमा राखेर ब्याट्री विकास गर्दै आएको छ । अहिले चल्तीमा रहेको ब्लेड टेक्नोलोजीमा आधारित एलएफपी ब्याट्री पनि सुरक्षीतसँग लामो चार्जिङ साइकल भएको मानिन्छ ।

अहिले बाहिर ल्याइएको सल्फाइड सोलिड स्टेट ब्याट्रीहरू ऊर्जा घनत्व, स्थायित्व र तीव्र गतिमा चार्ज गर्न सकिने हुन्छन् । कम्पनीले आगामी दुई वर्षभित्र यसलाई सिमित मोडलका कारमा दिएर परीक्षण गर्ने विभिन्न रिपोर्टहरूले दाबी गरेका छन् ।

बीवाइडीका विद्युतीय कारमा अहिले पनि १० वर्षसम्मको ब्याट्री वारेन्टी पाइन्छ । साइमेक्स इंकले नेपालमा बिक्री गर्ने सम्पूर्ण कारमा ब्लेड टेक्नोलोजीमा बनेको ब्याट्री दिइएको छ ।


Back_to_top