काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका-५, सहजा खोलामा कार खसेर दुर्घटना भएको छ ।
गए राति राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको बीएबी ७८२१ नम्बरको कार सडकबाट खोलामा खसेको हो हो ।
उक्त दुर्घटनामा चालक २२ वर्षीय अभिषेक कुमार रायसहित तीन जना घाइते भएका छन् ।
घाइतेहरूको सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सहजा खोलामा पक्की पुल नहुँदा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । यहाँ पुल निर्माणका लागि ठेक्का लगाइएको ३ वर्ष बिते पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
पुल निर्माणका २०७९ माघ १५ गते सुगम निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसारको म्याद सकिएर एकपटक थप भए पनि हालसम्म करिब ३९ प्रतिशत मात्रै काम सकिएको छ ।
कार दुर्घटनापछि स्थानीयले ठेकेदारलाई कारबाही र शीघ्र पुल निर्माणको माग गर्दै बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । साथै, उनीहरूले दुर्घटना रोक्न उक्त स्थानमा तत्काल कुनै उपाय अवलम्बन गर्नुपर्ने माग समेत राखेका छन् ।

