काठमाडौं । नेपाली बजारमा नयाँ नयाँ ब्राण्ड र मोडलका विद्युतीय सवारी (ईभी) आउने क्रम जारी छ । हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा डेढ दर्जन बढी नयाँ मोडलका ईभी लन्च गरियो । त्यस्तै, आगामी भदौ ३ देखि सुरू हुने नाडा अटो शोमा पनि करिब दर्जन नयाँ कार लन्च गरिँदै छ ।
यसैक्रममा, बिहीबार नेपाली बजारमा एउटा नयाँ मोडलको ईभी सार्वजनिक गरिएको छ । जसको मूल्यले ईभी बजार तरंगित बनाएको छ ।
चिनियाँ कम्पनी चांगनको उत्पादन दीपल एस-०५ नेपाली बजारमा बिक्री सुरू भएको हो । एमएडब्लू वृद्धिले दीपल ब्राण्डका सवारी नेपालमा २ वर्षदेखि बिक्री गर्दै आएको छ । फ्युचरिष्टिक डिजाइन, अत्याधुनिक फिचरले भरिपूर्ण एस-०५ मूल्य एक हिसाबले पत्याउन नसक्ने रहेको छ । अर्थात् उस्तै फिचर र साइजका अन्य प्रतिस्पर्धी कारभन्दा निकै कम रहेको छ ।
एमएडब्लूले दीपल एस-०५ दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा प्लस भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

४.६ मिटर लम्बाइ भएको एस-०५ एड्भान्स फिचर लग्जरी क्याबिन भएको मोर्डन टेक्नाेलोजी प्याक एसयूभी हो । झण्डै दीपलको अघिल्लो एसयूभी एस-०७ जत्रो साइज भएको एस-०५ एसयूभीको ग्राउण्ड क्लियरेन्स नेपाली बाटो सुहाउँदो १८० एमएमको रहेको छ । यसमा सेग्मेन्टमै पहिलो अग्मुन्टेड रियालिटी हेडअप एचडी डिस्प्ले र रिमोट पार्किङ इन एण्ड आउट फिचर रहेको छ ।
दीपल एस-०५ एसयूभीले नेपाली बजारमा साइजको हिसाबले जीएसीको एवोन भी, बीवाइडीको एटो३ र प्रोटोनको इमास७ जस्ता इलेक्ट्रीक एसयूभीलाई टक्कर दिनेछ । मूल्यको हिसाबले यो ईभीको म्याक्स भेरियन्ट एटो ३ को एड्भान्स र इमासको प्राइमभन्दा पनि कम र एमजीको माथिल्लो भेरियन्ट लग्जरीको बराबरी छ । त्यस्तै दीपल एस-०५ को प्लस भेरियन्टले एमजीको मिड भेरियन्ट र सेरेस जस्ता ईभीलाई राम्रो टक्कर दिनेछ ।

एस ०५ को क्याबिन फिचर आफूलाई लग्जरी सेग्मेन्टको एसयूभीको रूपमा पोजिसनिङ गरिरहेको जीएसीको एवोन भीभन्दा पनि धेरै रहेको छ । तर मूल्य भने एवोन भीको तल्लो भेरियन्ट भन्दा १० लाख रुपैयाँ कम रहेको छ ।
दीपल को एस-०५ मा ५६.१ किलोवाट अवारको एलएफपी ब्याट्रीप्याक रहेको यो एसयूभीले नेपाली बाटोमा ४ हजार किलोमिटरभन्दा धेरै परीक्षण गर्दा ४०० प्लस किलोमिटरको रेन्ज दिएको एमएडब्लू वृद्धिले जनाएको छ ।

दीपलले एस-०५ एसयूभीमा सीएटीएलले बनाएको आधुनिक प्रविधिको गोल्डेन सिल्ड २.० ब्याट्री प्रयोग गरेको छ । यो ब्याट्री अझ बढि सुरक्षित र ५ हजार चार्जिङ साइकल भएको कम्पनीको दाबी छ । दीपलका अनुसार यो एसयूभीलाई ६ लाख किलोमिटरभन्दा बढी गुडान सकिने छ । साथै यसलाई १५० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।
चिनियाँ कम्पनी भए पनि थाइल्याण्डमा उत्पादन भएर नेपाल भित्रिएको दीपल को एस-०५ ले नेपाली इलेक्ट्रीक एसयूभीको बजारलाई जरैबाट हल्लाएको छ । दीपलको मूल्यको रेस्पोन्समा अन्य कम्पनीका ईभीहरूले मूल्य घटाउने वा आकर्षक छुटका स्कीमहरू ल्याउने हो त्यो आगामी दिनमा थाहा हुने नै छ ।

