काठमाडौं । चीनसँगको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी दुई सातादेखि बन्द रहेको छ । पहिरोको कारण गत साउन १८ गतेदेखि बन्द भएको कोदारी राजमार्ग अझै खुल्न नसकेको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा लेदोसहितको पहिरो खसिरहेकाले सडक संचालनमा ल्याउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इकुमा सडक माथिबाट पहिरो झरिरहने तर सडक तलतिर पनि भासिएकाले पूर्णरुपमा बन्द भएको हो ।
तातोपानी भन्सार कार्यालय खुला भए पनि चीनतर्फबाट आएका गाडीहरू भन्सारमा आइपुग्न सकेको छैनन् । भन्सार कार्यालयभन्दा करिब २ किमी पर पहिरोले सडक अवरुद्ध हुँदा सामाना लिएर आएका ६०० बढी कन्टेनर मितेरी पुलपारि रोकिएका छन् ।
लामो समयसम्म सडक नखुल्दा फलफुल र तरकारी कन्टेनरमै कुहिन थालेका छन् । व्यापारीहरूले पारी आइपुगेको सामाना भरियालाई बोकाएर वारी ल्याउन थालेका छन् ।
सडक नखुल्दा सवारी साधन आयात समेत प्रभावित भएको छ । नाइमा मोबिलिटी एक्स्पोमा देखाउने भनिएका केही गाडी आउन सकेका थिएनन् भने भदौ ३ देखि हुने नाडा अटोलाई लक्षित गरी ल्याइएका गाडी पनि रोकिएका छन् ।
पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए। करिब २ किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ ।
कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास नभएको उनले गुनासो गरे।
यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने बताए।

