काठमाडौं । नेपाली इलेक्ट्रीक अटोमोबाइल क्षेत्रमा प्रिमियम क्रसओभर सेग्मेन्ट जन्माएको दीपलले हो । दीपलले पहिलो पटक ल्याएको एस-०७ ले ठूलो साइजको मोडलसँगै फिचर प्याक र लग्जरी भएकै कारण सफलता पाउन सफल भएको मानिन्छ ।
मूल्यको कारण पनि दीपल एस-०७ ले धेरैको मन जित्यो । नेपालमा बिक्री सुरू भएको करिब १५ महिनामै एस-०७ को बिक्री हजार युनिट पूरा गरिसकेको छ ।
अब यही बजार निकै प्रतिस्पर्धी देखिँदै गएको छ । दीपल एस-०७ लाई टक्कर दिन अर्को चिनियाँ ब्राण्ड एमजी आइएमले दरिलो उपस्थिति जनाउने भएको छ ।
आइएम-सिक्सको इन्ट्रीसँगै दीपल एस-०७ थप चुनौतीको सामना गर्नु पर्ने देखिएको छ । अझ आइएम-सिक्सको मोटर साइज, ब्याट्री क्षमता र गाडीकै साइज ठूलो भएकाले नयाँ ब्राण्ड भएर पनि राम्रै टक्कर दिने देखिन्छ ।
अर्को कुरा आइएम ब्राण्ड एमजीकै साथमा उपलब्ध हुने भएको कारण नेपालमा यसको प्रभाव पर्ने देखिन्छ । आइएम-सिक्स इन्टेलिजेन्ट इलेक्ट्रीक प्रिमियम एसयूभीको ट्याग लाइनमा आफूलाई उभ्याएको छ ।
आइएम-सिक्ससँगै बीवाइडी सिलायन-सेभेन पनि यही सेग्मेन्टमा उपलब्ध रहेको कारण दीपलले एस-०७ ले आइतबार सार्वजनिक गरेको ५ वर्षे ‘जिरो ओनर्शिप कस्ट’बाटै प्रस्ट हुन्छ ।
यस्तोमा हामीले यहाँ दीपल एस-०७ र आइएम-सिक्स बीच के कस्तो भिन्नता छन् भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौ ।
साइज

दीपल एस-०७ को लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम, उचाइ १६२५ एमएम र ह्वीलबेस २९०० एमएम छ ।
एमजी आइएम-सिक्सको लम्बाइ ४९०४ एमएम, चौडाइ १९८८ एमएम, उचाइ १६६९ एमएम र ह्वीलबेस २९५० एमएम लामो छ ।
यी दुवै क्रसओभरमा २० इन्चको ह्वील र समान १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।
टेक्नलोजी फिचर
अत्याधुनिक फिचर प्याक यी क्रसओभर एसयूभीमा टेक्नोलोजीको भरपुर प्रयोग गरेको छ । दीपल एस-०७ मा क्वालकमको स्न्यापड्रागन ८१५५ चीप र दीपलकै ओएस दिइएको छ । यसमा सेग्मेन्ट फस्ट जेस्चर कन्ट्रोल, १५.६ इन्चको सनफ्लावर स्क्रीन दिइएको छ ।

एमजी आइएम-सिक्समा ‘एडी’ नामको स्मार्ट ड्राइभिङ असिस्ट छ । उक्त सिस्टमको प्रयोगले ६.७ गुणा बढी सुरक्षा दिने कम्पनीको दाबी छ ।
आइएम-सिक्स क्रसओभर एसयूभीमा हाइप्रिकसन लाइडार, एनभीडियाको ड्राइभ अर्गेन चीप, क्वालकमको स्न्यापड्रागन एसए ८२९५ पी प्लेटफर्म सहितको ककपिट पाउन सकिन्छ । यसमा पार्किङ सेन्सर मात्रै ३०० वटा प्रयोग भएको कम्पनीको भनाइ रहेको छ ।
पावर र पफर्मेन्स
दीपलले हालै मात्र एस-०७ मा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक भएको अपडेटेड मोडल बिक्री थालेको छ । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ४१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।
यसमा १३४ पीएस पावर र ३२० न्यूटन मिटर टर्क दिने ९९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिएको छ ।

आइएम-सिक्समा ७५ किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री प्याक दिएको छ । यसले ४५० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ । आइएम-सिक्समा १०९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । यो मोटरको १४८ हर्सपावर तथा ४५० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
यसमा दिइएको रियर ह्वील स्टेरिङ सिस्टमले क्रयाब वाक र सानो रेडियसमा पनि टर्न गर्न सकिन्छ । त्यसैले यसको टर्निङ रेडियस ५.०९ मिटर मात्रै छ ।
क्याविन फिचर
दीपल एस-०७ मा नेभिगेसन र ड्राइभर इन्फर्मेसनको लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, मेमोरी फङ्सन र लम्बार्ड सपोर्ट सहितको फ्रन्ट सिट दिएको छ । साथै, पावर्ड एण्ड भेन्टीलेटेड फ्रन्ट सिट, थ्री जोन क्लाइमेट कन्ट्रोल, प्यानारोमिक ग्लासरुफ, फ्रेमलेस डोर, सोनीको १४ वटा स्पीकर, ड्राइभर साइड हेडरेस्ट स्पीकर, पीएम २.५ एयरफिल्टर, एडास लेबल २ ड्राइभर असिस्ट जस्ता फिचर दिएका छन् ।

त्यस्तै, एमजीको आइएम-सिक्समा पनि क्वालकमकै स्न्यापड्रायागनको ८२९५ चीप सहितको २६.३ इन्चको इमेर्सीभ टचस्क्रीन, १०.५ इन्चको थप भेहिकल कन्ट्रोल स्क्रीन, प्रो-एक्टीभ भिजन सप्लीमेन्ट सिस्टम, इन्टेलिजेन्ट सिन मोड दिएको छ ।
त्यसैगरी, इनबिल्ट डीभीआर, भोइस कन्ट्रोल सिस्टम, फ्रेमलेस डोर, डबल ग्लेज सिल्भरीङ थर्मल प्यानारोमिक ग्लासरुफ, ५० वाटको भेन्टीलेटेड वायरलेस मोवाइल चार्जिङ प्याड, इन्टेलिजेन्ट वाम एण्ड कोल्ड बक्स दिइएको छ ।
यसमा १२ वे पावर्ड एन्ड फोर वे लम्बार्ड सपोर्ट सिट, हिटेड एण्ड भेन्टीलेटेड फ्रन्ट सिट, १८ डीग्री फोल्डेबल रियर सिट, ४ वटा स्काई स्पीकर सहित २० वटा स्पीकर, एड्भान्स ड्राइभर असिस्ट सिस्टम, आई स्मार्ट एक्सेस फिचर दिइएको छ ।

मूल्य
एमजीको आइएम-सिक्समा १०९ किलोवाटको मोटर र ७५ किलोवाट आवरको व्याट्री प्याक भएपनि ७४ लाख ९९ हजार रुपैयाँ राख्यो । यसलाई एकदमै अग्रेसिभ प्राइस मान्न सकिन्छ ।
दीपलको एस-०७ को पनि मूल्य समान ७४ लाख ९९ हजार नै छ । तर, कम्पनीले गाडी किनेको ५ वर्षसम्म पनि कुनै संचालन खर्च नलाग्ने जिरो ओनरशिप कस्ट स्कीम ल्याएको छ ।
दीपलले ल्याएको नयाँ स्कीममा ५ वर्षको अटोप्लस इन्स्योरेन्स, ५ वर्षको सवारी कर, ५ वर्ष निःशुल्क सर्भिस तथा मेन्टीनेन्सका साथै ५ वर्षसम्म एमएडब्लु बृद्धिको नेटवर्कमा फ्री चार्जिङको सुविधा दिएको छ ।


