काठमाडौं । आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ लाई भव्य बनाउन विशेष प्रदर्शनी गरिने भएको छ ।
आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, फ्लाइङ कारसम्म प्रदर्शनी गरिने जानकारी दिएको हो ।
नाडाका अध्यक्ष करण चौधरीले अटो शोलाई भव्य बनाउन ३६ ब्राण्डका सवारी सहित पहिलो पटक रोबोटदेखि फ्लाइङ कारसम्म प्रदर्शन गर्न लागिएको बताए ।
साथै, १ दर्जन ऐतिहासिक गाडी (भिन्टेज मोटर शो) पनि प्रदर्शनीमा राखिने उनले बताए । उनका अनुसार अटो शोमा रोबोट, दीपलको उड्ने कार देखाइने छ । त्यस्तै, मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोता आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोला लगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिने उनले जानकारी दिए ।
अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुइपाँग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने उनले जानकारी दिए ।

स्वदेशी उत्पादन भएका सवारी साधन तथा स्पेयर पार्टसको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ ।
अटो शोमा मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताए । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने उनले बताए ।
अटो शोको लागि टिकट बुकिङ खुलाइ भइसकेको र भदौ २ गतेसम्म बुकिङ गर्नेले २० प्रतिशत क्यासब्याक पाउने उनले बताए ।
नाटा अटो शोको मुख्य प्रायोजक एमएडब्लू वृद्धि रहेको छ ।


