३ दिनमै १५० यूनिटभन्दा धेरै ट्रायम्फ बुकिङ, चाँडै डेलिभरी सुरु हुने

काठमाडौं । नाडा अटो शो २०२४ मा ट्रायम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । कम्पनीले १५० यूनिटभन्दा धेरै मोटरसाइकल बुकिङ लिन सफल भएको हो ।

नाडा अटो शो २०२४ मा पहिलो पटक नेपाली बजारमा सार्वजनिक भएको ट्रायम्फले तीन दिनमा नै १५० यूनिट मोटरसाइकल बुकिङ भएको हो ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दुई मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।

ट्रायम्फ ब्राण्ड उत्कृष्ट डिजाइन, उच्च इन्जिनियरिङ र बेजोड पर्फर्मेन्स लागि परिचित छ ।

यस नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रयाम्बल ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहकवर्गको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको छ ।

गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यस उपलब्धीले हामीलाई निकै गर्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्रायम्फ ब्राण्ड प्रतिको विश्वासलाई झल्काएको छ । यो सफलताले हामीलाई हाम्रा ग्राहकहरूलाई झनै असाधारण उत्पादन र सेवाहरू प्रदान गर्न उत्प्रेरित गरेको छ ।’

कम्पनीले स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ । कम्पनीका अनुसार दशैं अघिनै यसको डेलिभरी सुरु हुने कम्पनीको भनाई छ ।


Back_to_top