काठमाडौं । जस्तोसुकै ब्राण्डका विद्युतीय साधन सहजै नेपाल आउन थालेसँगै सरकारले मापदण्ड बनाउन थालेको छ । अटो पत्रकार संघ (जाम) ले नाडा अटो शोको अवसर पारेर आयोजना गरिएको ‘ग्रीन मोबिलिटी एण्ड इकोनमी’ सम्बन्धी अन्तक्र्रिया उक्त विषय बाहिर आएको हो ।
सरकारले विद्युतीय सवारीसाधनको मापदण्ड तय गर्ने अन्तिम तयारी गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यातायात व्यवस्था शाखाका सिडिइ सुरेश श्रेष्ठले जानकारी दिए ।
‘पछिल्लो सयम विद्युतीय सवारी आयात बढेको र सरकारले पनि त्यसलाई नजिकबाट नियाल्दै आएको छ । जस्तो सुकै साधनपनि आयात हुने अवस्था रोक्न निश्चित मापदण्ड बनाउँदैछौ’, श्रेष्ठले भने ।
अहिले बजारमा विभिन्न किसिमका हल्ला छन्, मोटर पावरको विषय निकै विवादीत छ । तर, त्यो विषयको निराकरण परीक्षण हो । त्यसको लागि आवस्यक पूर्वधार हामीसँग छैन भन्दै श्रेष्ठले भने, निजी क्षेत्र र सरकार मिलेर यसमा पनि काम गर्नु पर्ने अवस्था छ ।’
विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीहरु लामो समयसम्म टिक्ने खालको हुन्छ । त्यसले गर्दा हामीले त्यति चिन्ता लिनुपर्दैन् ।
नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले आफुहरु सरकारसँग मिलेर लगानी गर्न तयार रहेको बताएका थिए ।
‘निजी क्षेत्र गाडी ल्याएर बेच्ने मात्रा गर्दैन, पूर्वधार निर्माणमा पनि लगानी गर्छ । अहिले ईभीको बजार प्रतिस्पर्धी बन्दै गएको छ । जसले राम्रो प्रोडक्ट र सर्भिस दिन्छ, उसैको बढी गाडी बिक्छ र जसले दिन सक्दैन उसको बिक्दैन्’, गोल्छाले भने ।
कार्यक्रममा यातायात विज्ञ आषिश गजुरेलले विद्युतीय सवारी किन्नको लागि लामो प्रतिकृया पूरा गर्ने अवस्था रहेको बताउँदै यसमा सहजता बनाउन आवश्यक रहेको बताए ।
उनले सरकारले निजी सवारी साधनतर्फ भन्दा सार्वजनिक यातायातको क्षेत्रमा जोड दिने विषयमा वहस गर्न आग्रह गरे । उनले भने, “सरकारले विद्युतीय सार्वजनिक यातायातमा कसरी जोड दिन सकिन्छ भन्ने हेर्नुपर्छ ।’
विद्युत प्राधिकरणका चार्जिङ नेटवर्क संयोजक सागरमणि ज्ञवालीले सात वर्ष पहिला चार्जिङ स्टेशनका विषयमा कसरी बनाउने भन्ने कुनै ज्ञान नभएको र अहिले विद्युत प्राधिकरणले आम नागरिकको माग अनुसार काम गरिरहेको बताए ।
उनले पछिल्लो सयम प्राधिकरणले देशभर ६१ वटा चार्जिङ स्टेशन निर्माण गरेको र नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सफल भएको दाबी गरे । उनले अहिले होटलमा चार्जिङ स्टेशनहरु राखेर आम नागरिकलाई सहज बनाएपनि चार्जरबारे आम उपभोक्तालाई प्राप्त ज्ञान नभएको बताए ।
ज्ञवालीले अघिल्लो दशौमा उपभोक्ताले केही समस्या भोग्नु परेको बताउँदै अहिलेको दशौँअघि विभिन्न काम गरेर धेरै चार्जरहरु अनलाइन प्रणालीमा ल्याउने बताए ।
वातावरणविद भुषण तुलाधरले विद्युतीय सवारी साधनको आयात बढ्दै जाँदा वातावरणदेखि अन्य विभिन्न विषयमा सकारात्मक प्रभाव पर्ने बताए । नेपाल विद्युतीय सवारीका लागि निकै उपयोगी रहेकाले सार्वजनिक यातायात क्षेत्रमा पनि विद्युतीय सवारीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।
उनले पछिल्ला दिनहरुमा ब्याट्री व्यवस्थापनको विषयमा समेत सरकारले सोच्नु पर्ने बताउँदै भविष्यमा हामीले सोचे जस्तो भयभह अवस्था भने नआउने दाबी गरे । उनले भने, ‘विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीहरु लामो समयसम्म टिक्ने खालको हुन्छ । त्यसले गर्दा हामीले त्यति चिन्ता लिनुपर्दैन् ।’
कार्यक्रमलाई अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले संचालन गरेका थिए ।