३५ वर्षदेखिको मेहनत एकैछिनमा सबै खरानी बनाइदिए : ध्रुव थापा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का निवर्तमान अध्यक्ष ध्रुव थापाले आफ्नो ३५ वर्षदेखिको मेहनत र पसिना एकैछिनमा खरानी बनाइदिएको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पोखरामा रहेको उनको घर जलाइदिएपछि थापाले सामाजिक संजालमार्फत दुःख व्यक्त गरेका हुन् ।

‘जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो । तर एकैछिनमा सबै खरानी बनाइदिए,’ थापाले लेखेका छन् ।

उनले आफू बस्ने घर, अफिस जलाइँदा मन पनि जलेको बताएका छन् । ‘१७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ । कति आरोह, अवरोह र जोखिम मोलेर व्यसाय गरेको थिएँ’ उनले लेखेका छन् ‘नेपालमै उद्यम गर्नुपर्छ, सम्भावना धेरै छ भन्दै अरुलाई अभिप्रेरित गर्दै आएको थिएँ, तर आज आफू बस्ने घर, अफिस जलाइँदा मन पनि जल्दो रहेछ,’ उनले भनेका छन् ।

उनले जलेको घरको आगोसँगै आफ्ना सबै उत्साह पनि जलेर खरानी भइरहेको भन्दै पीडा पोखेका छन् । ‘२०७२ सालको भूकम्पका बेला होस् वा कोभिडको समयमा, थुप्रै संख्याका एम्बुलेन्स आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान र्गयौं, ती एम्बुलेन्सले विभिन्न स्थानमा सेवा र्पुयाइरहेका छन् । तर आज जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्,’ उनले भनेका छन् ।

त्यति मात्रै नभइ आफूहरूको घरमा घरायसी काम गर्ने एक कर्मचारी गुमाउँदा ठूलो पीडा महसुस भएको उनले बताएका छन् । ‘परिवारकै सदस्य भएर बसेकी ती बहिनीलाई बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिँदा मर्माहत बनाएको छ’ थापाले लेखेका छन् । घरमा मान्छे छन् हुँदाहुँदै तलबाट आगो लगाएका क्रुर अपराधीलाई उम्किन नदिन उनले आग्रह गरेका छन् ।

उनले आफ्ना दाजु बिन्दु थापाले राजनीति गर्नु अपराध हो भनेर प्रश्न समेत गरेका छन् । ‘हिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाई राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो। के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ। उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा। एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ,’ उनले भनेका छन् ।


Back_to_top