यातायात सेवा तत्काल संचालनमा ल्याउन ट्रक व्यवसायीको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले अवरुद्ध यातायात सेवा तत्काल संचालनमा ल्याउन माग गरेको छ ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले एक विज्ञप्ति जारी गर्दै बन्द रहेको यातायात क्षेत्र पुनः सुचारु गर्न आग्रह गरेका हुन् ।

महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सुचारु गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न अपिल गरेको छ ।

उद्योग–व्यापार, कृषि उत्पादन र आम नागरिकको दैनिकी यातायातमा निर्भर रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने महासंघको धारणा छ ।

‘नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र पछिल्ला केही दिनदेखि पूर्ण रूपमा ठप्प छ, सडकमा सवारीसाधन नचल्दा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसम्ममा गम्भीर असर परेको छ, यस अवस्थाले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा परेको छ भने सर्वसाधारण नागरिकले पनि ठूलो कठिनाइ भोगिरहेका छन्,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले जेनजीले अघि सारेका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गर्नुपर्ने बताएको छ । यसका लागि
सरकार, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिई सम्बोधन गर्नुपर्नेमा महासंघको जोड छ ।

कानुनसम्मत काम गर्ने, कर तिर्ने, रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्रलाई गतिशील बनाउने यातायात व्यवसायीलाई राज्यले पूर्णकानुनी सुरक्षा दिनुपर्ने महासंघको माग छ ।

साथै, आन्दोलनका कारण दैनिक रूपमा नोक्सानी बेहोर्न बाध्य यस क्षेत्रलाई तत्काल राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्नुपर्ने पनि महासंघले जोड दिएको छ ।


Back_to_top