काठमाडौं । विगत ४ वर्षदेखि ‘सास्तीमार्ग’को बन्दै आएको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड कालोपत्र गर्ने तयारी गरिएको छ ।
पुरानो ठेक्का तोडी नयाँ ठेक्कामार्फत अघि बढाइएपछि यो सडकको कामले गति लिन थालेको हो । कुल ४ किलोमिटर लामो यो सडकमध्ये पहिलो चरणमा २ किमी कालोपत्र गर्ने तयारी थालिएको हो ।
धुलिखेल-खावा सडक आयोजनाका इन्जिनियर सिताराम बुढाथोकीले चैत ७ देखि २० गतेसम्म रातिको समयमा सवारी संचालनमा रोक लगाई कालोपत्र गर्न लागिएको बताए । ठूला मालबाहक सवारी गुड्दा सिमेन्ट ट्रिटेड बेस (सीटीबी)को गुणस्तर खस्किने भएकाले १४ दिन रोक लगाइएको उनले बताए ।
उनले पहिलो चरणमा कालोपत्र गरिने २ किमी (धुलिखेल-पकुचा) सडकमा हाल सीटिबी हाल्ने तयारी भइरहेको बताए । ‘पुरानो ठेक्का तोडी नयाँ ठेक्का लगाएपछि कामले गति लिएको छ । अहिले २ किमी कालोपत्र गर्ने चरणमा पुगेको छ । चैत ७ देखि २० सम्म गाडी चलाउन रोक लगाई कालोपत्र गर्ने योजना छ,’ उनले मेरोअटोसँग भने । यद्यपि, मौसमले साथ नदिए केही दिन ढिलाइ हुनेसक्ने उनको भनाइ छ ।
बाँकी २ किमी दोस्रोचरणमा कालोपत्र गरिने उनले बताए । उक्त सडकमा करिब ५०० मिटर भित्तो कटान र नाला निर्माण गर्न बाँकी छ । १५०० मिटरमा भने कटान र नालाको काम सकिएको उनले बताए ।

समग्रमा याे सडकको भौतिक प्रगति ४७ प्रतिशत पुगेको इन्जिनियर बुढाथोकीले जानकारी दिए । पुरानो ठेकेदारले करिब १२ प्रतिशत काम गरेको थियो । गौरी पार्वतीले धुलिखेलदेखि पकुचासम्मको २ किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस राख्ने काम सकेको थियो ।
मंसिरदेखि काम थालेको सीएनएवान काली जेभीले ४ महिनामै थप ३५ प्रतिशत काम गरेको उनले बताए । उसले बाँकी भित्तो कटान, नाला निर्माण, सबबेस लगायत काम गरिरहेको छ ।
५५ सेन्टिमिटर बाक्लो हुने
इन्जिनियर बुढाथोकीका अनुसार धुलिखेल-खावा सडक जमिनको सहतदेखि ५५ सेन्टिमिटर बाक्लो हुनेछ । जसमा विभिन्न ५ तह रहने छ ।
उनका अनुसार यो सडकमा जमिनको सतह माथि २० सेन्टिमिटर बाक्लो सबबेस राखिनेछ । त्यसपछि १५ सेन्टिमिटर बाक्लो सिमेन्ट सीटीबी राखिने छ । सीटीबी गिट्टी, ग्राभेल, बालुवामा सिमेन्ट मिसाएर तयार पारिन्छ । जसले सडकको भारवहन क्षमता बढाउनुका साथै लामो समयसम्म टिक्छ ।
सीटीबी माथि १० सेन्टिमिटर बाक्लो ‘वेट मिक्स’ राखिने इन्जिनियर बुढाथोकीले जाकारी दिए । त्यसपछि मात्रै कालोपत्रको काम सुरू हुनेछ ।

वेट मिक्स माथि दुई तहको १० सेन्टिमिटर बाक्लो कालोपत्र गरिने छ । जसमा पहिलो चरणमा ६ सेन्टिमिटर डीबीएम (डेन्से बिटुमिनस म्याकाडम) गरिन्छ । अन्तिममा सो माथि ४ सेमि बाक्लो अस्फाल्ट कालोपत्र गरिने उनले बताए ।
वैशाख भित्र कालोपत्र सक्ने लक्ष्य
उनले आगामी वैशाख भित्रै पूरै सडक कालोपत्र सक्ने लक्ष्य राखिएको बताए । कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिन उनको भनाइ छ ।
‘आगामी वैशाख भित्र पूरै सडक कालोपत्र गरिसक्ने लक्ष्य छ । त्यसपछि स्लोप मेन्टेन लगायत अरू काम गरिन्छ,’ उनले भने ।
सुरूमा २२ महिनाभित्र सडकको काम सक्ने गरी गौरी-पार्वती निर्माण सेवासँग २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । कम्पनीले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अनुसार २०८० चैत १९ गतेभित्र काम सक्नुपर्नेमा पूरा नगरेपछि डिभिजनले गत २०८१ फागुन १५ गते ठेक्का सम्झौता तोडेको थियो ।
त्यसपछि सडक डिभिजन भक्तपुर मंसिरमा नयाँ ठेक्का लगाएको थियो । सीएनएवान काली जेभीले भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुसार १४ महिनामा २०८३ पुससम्मका काम सम्पन्न गरिसक्नुपर्नेछ ।
यो नेपालको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसहित सन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्ला जाने मुख्य सडक हो । यो सडक राजमार्ग समयमै नबन्दा यात्रु तथा स्थानीले ४ वर्षदेखि सास्ती खेप्दै आएका छन् । पानी पर्दा हिालाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । जसले ट्राफिक जाम बढाउनुका साथै दुर्घटनाको जोखिम ससमेत बढाएको छ ।

