काठमाडौं । यातायात व्यवसायीले तत्काल सार्वजनिक सवारी साधनको भाडादर बढाउन माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाले तत्काल समायोजन गर्न सरकारसँग माग गरेको हो ।
नेपाल आयल निगमले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजलेमा १० रुपैयाँ मूल्य बढाएको थियो ।
महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन अनुसार वृद्धि गर्न माग गरेको हो । सवारी साधनसँग सम्बन्धित १३ सूचकका आधारमा मानी संघीय रुट र सातै प्रदेशका रुटको भाडा यथाशीघ्र समायोजन गर्नुपर्ने महासंघको माग छ ।
‘…यातायात व्यवस्था विभागले कानून बमोजिम संघीय रुटको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा वा मूल्य घटदा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको हुँदा विगत २०८१।९।२२ गतेदेखि मूल्य समायोजन नभएको र भाडा समायोजन गर्दा सवारी साधनसंग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार बनाई मूल्य समायोजन गर्नको लागी २०६५ सालमा वैज्ञानिक विधीबाट भाडा समायोजन गर्ने प्रावधान भएकोमा लामो समयदेखि भाडा समायोजन नभएको हुँदा हालसम्मको पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि र सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार मानी तत्काल वैज्ञानिक विधिबाट संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तरगतको भाडा सात वटै प्रदेश मन्त्रालयबाट यथाशिघ्र भाडा समायोजन गरिदिन हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं,’ महासंघले विज्ञप्तिमा भनेको छ ।
एकैपटक भएको उच्च मूल्यवृद्धिले व्यवसायीलाई सेवा संचालन गर्न कठिन भएको महासंघको भनाइ छ । ‘पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको भए पनि विगत २०८१/९/२२ गतेदेखि भाडा समायोजन भएको छैन । हाल भएको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ,’ महासंघले भनेको छ ।


