महानगरले धरहरामा पार्किङ शुल्क नलिने, बेलुका ५ बजेपछि ‘नो इन्ट्री’

सांकेतिक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएकाे पार्किङस्थल संचालनमा ल्याएको छ ।

गत फागुन ९ गतेको मन्त्रिपरिषद् बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र संचालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महानगरले पार्किङ व्यवस्थापनको जिम्मेवारी आफूले सम्हालेको हो ।

त्यसअघि धरहराको व्यवस्थापन अस्थायी रुपमा संघीय सरकारको सहरी विकास मन्त्रालयले गर्दै आएको थियो ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले महानगरले जिम्मेवारी लिएपछि पूर्वाधार सुधार र सुरक्षा व्यवस्था मिलाइ पार्किङ क्षेत्र संचालनमा ल्याइएको बताए ।

उनले पार्किङ क्षेत्रमा महानगरले बिजुली बत्ति, फायर एक्स्टिङ्विग्सर, सीसीटीभी क्यामेरा जडान गरेको जानकारी दिए ।

‘सुरुका दिनमा यहाँ धेरै कुराहरू व्यवस्थित थिएनन् । हामीले जिम्मेवारी लिइसकेपछि बत्तीको व्यवस्थापन गर्यौँ । सीसी क्यामेरा राख्यौं । प्रत्येक तल्लामा १० वटाका दरले ३० थान फायर एक्स्टिङ्विग्सर जडान गर्यौं,’ उनले भने । अहिले सीसीटीभी पर्याप्त नभएकाले अझै थप्ने तयारी भइरहेको उनको भनाइ छ ।

नगर प्रहरी बलका प्रमुख जोशीले हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क गरिएको बताए । उनले पार्किङमा राखिएका सवारीको सुरक्षाका लागि नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेको बताए ।

सर्वसाधरणले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै सवारी साधन पार्किङमा प्रवेश गराउने पाउने व्यवस्था मिलाइएको बताए । भित्रि रहेका सवारी साधन भने सामान्यतया बेलुका ८ बजेसम्म निकाल्न पाइने छ । सवारीको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैंले लिनुपर्ने उनको भनाइ छ ।

धरहराको बेसमेन्ट पार्किङमा ९०० बढी सवारी साधन अटाउँछन् । यसको सबैभन्दा माथिल्लो तलामा चारपाँग्रे सवारी राख्ने व्यवस्था मिलाइएको छ । यहाँ १२७ वटा गाडी अट्छन् ।

त्यस्तै, बी–२ मा करिब ७०० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ । १३५ वटा चारपाँग्रे सवारी अट्ने सबैभन्दा तलको बी–३ पार्किङमा भने हावाको प्रवाहमा समस्या देखिएकाले केही समस्या भएको प्रमुख जोशीले बताए ।


Back_to_top