बिक्री दोब्बरले बढेपछि लीपमोटर पहिलो पटक नाफामा

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटर पहिलो पटक नाफामा गएको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार सन् २०२५ मा ७ करोड ८३ लाख अमेरिकी डलर (११ अर्ब ४३ करोड रुपैयाँ) खुद नाफा कमाएको हो ।

कम्पनीको ईभी बिक्रीमा उछाल आएसँगै पहिलोपटक नाफामा गएको हो । सन् २०२५ मा कम्पनीको बिक्री १०३ प्रतिशतले बढेर ५ लाख ९६ हजार ५५५ युनिट पुगेको थियो । कम्पनीले २०२५ मा ६७ हजार ५२ युनिट निर्यात गरेको थियो । जुन चिनियाँ ईभी स्टार्टअपहरू मध्ये सबैभन्दा धेरै हो ।

कम्पनीको २०२५ को राजस्व अघिल्लो वर्षको तुलनामा १०१.३ प्रतिशतले बढेर कीर्तिमानी ६४.७३ अर्ब युआन पुगेको छ। कम्पनीको ग्रस मार्जिन २०२५ मा १४.५ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.१ प्रतिशत बिन्दुले धेरै हो । वार्षिक रूपमा यो नयाँ कीर्तिमान हो।

कम्पनीको सन् २०२५ को डिसेम्बरमा डेलिभरी नोभेम्बरको तुलनामा १४ प्रतिशतले घटे पनि चौथो त्रैमासिकमा २ लाखभन्दा बढी युनिट डेलिभरी गर्दै नयाँ त्रैमासिक कीर्तिमान कायम गरेको थियो ।

२०२५ को अन्त्यसम्म कम्पनीसँग ३७.८८ अर्ब युआन नगद थियो भने क्यास फ्लो पोजेटिभ थियो् ।

चीनको एफएडब्लू समूहले डिसेम्बरको अन्त्यमा कम्पनीमा ३.७४ अर्ब युआन लगानी गरेको थियो । जसका कारण कम्पनीको सबैभन्दा ठूलो बाह्य शेयर होल्डर स्टेलान्टिसको हिस्सा घटेर १८.९९ प्रतिशतमा सीमित भएको छ ।

लीपमोटर ले २०२६ मा आफ्ना चार प्रमुख उत्पादन श्रृंखला ए, बी, सी र डी मा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने योजना बनाएको छ । जस अन्तर्गत नयाँ ए १० मोडेल यही मार्च २६ मा सार्वजनिक गर्दैछ ।

लीपमोटरले २०२६ मा १० लाखभन्दा बढी सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ ।


Back_to_top