आयो डुकाटीको नयाँ डर्ट मोटरसाइकल, तौल स्प्लेण्डरकोभन्दा कम

काठमाडौं । इटालियन मोटरसाइकल निर्माता डुकाटीले भारतीय बजारमा आफ्नो नयाँ मोटोक्रस मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा पहिलो पटक डर्ट सेग्मेन्टमा डुकाटी डेज्मो ४५० एमएक्स मोडल सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य १७ लाख २३ हजार ६०० भारु (एक्स शोरूम) तोकेर बिक्री सुरू गरेको हो ।

डेज्मो ४५० एमएक्स मोटरसाइकल लन्चसँगै डुकाटीले भारतको हार्डकोर मोटोक्रस सेग्मेन्टमा पहिलो पटक औपचारिक रूपमा प्रवेश गरेको जनाएको छ । यो मुख्य गरी अफरोड ट्रयाक रेसका लागि बनेको मोडल हो ।

डेज्मोमा ४४९.६ सीसीको लिक्विड-कुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ९ हजार ४०० आरपीएममा ६३.५ पीएस पावर र ७ हजार ५०० आरपीएममा ५३.५ एनएम टर्क जेनेरेट गर्छ ।

मोटरसाइकलमा डुकाटीको प्रसिद्ध डेस्मोड्रोमिक भल्भ प्रणाली प्रयोग गरिएको छ । जुन प्रायः डुकाटीका सुपरबाइक र रेसिङ मोटरसाइकलहरूमा मात्र देख्न पाइन्छ । इन्जिन ५-स्पीड गियरबक्ससँग जोडिएको छ । जसले मिड-रेन्ज र टप-एन्ड प्रदर्शनलाई अझ बलियो बनाउँछ ।

यो बाइकको अर्को प्रमुख विशेषता यसको हल्का तौल हो । एल्मुनियम पेरिमिटर फ्रेम प्रयोग गरिएको डेज्मो ४५० को तौल इन्धनबिना मात्र १०४.८ किलोग्राम रहेको छ । यो हिरो स्प्लेण्डरको भन्दा कम तौल हो ।

सस्पेन्सनका लागि यसमा सोवाको पूर्ण रूपमा एड्जस्ट गर्न मिल्ने यूएसडी फ्रन्ट फोर्क र रियर मोनोशक दिइएको छ । त्यस्तै, बैकिङमा ब्रेम्बोको उच्च गुणस्तर भएको ब्रेकिङ सिस्टम र पीरेली कम्पनीको डर्ट टायर प्रयोग गरिएको छ ।

मोटोक्रस मोटरसाइकलहरूमा विरलै पाइने आधुनिक इलेक्ट्रोनिक्स सुविधाहरू पनि यसमा समावेश गरिएको छ । जसमा अफ–रोडका लागि ट्युन गरिएको ट्र्याक्सन कन्ट्रोल, लन्च कन्ट्रोल, इन्जिन ब्रेक कन्ट्रोल तथा विभिन्न राइडिङ मोडहरू उपलब्ध छन्, यसले विभिन्न ट्र्याक र भू–भाग अनुसार बाइकको प्रदर्शन मिलाउन सहयोग गर्छ ।

उच्च मूल्यका कारण यो बाइक आम प्रयोगकर्ताका लागि नभई मुख्यतः प्रोफेशनल रेसर तथा अफरोड राइडरहरूलाई लक्षित गरेर ल्याइएको हो । अत्याधुनिक प्रविधि र रेसिङ अनुभवको संयोजनले डुकाटी डेज्मो ४५० एमएक्सलाई विश्वकै उन्नत मोटोक्रस मोटरसाइकल मध्ये एक बनाएको कम्पनीको दाबी छ ।


Back_to_top