काठमाडौं । यातायात व्यवस्था विभागले अबको १ महिना भित्रै कर्णाली प्रदेशका १ लाख सवारी चालकहरूलाई क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने तयारी गरेको छ ।
विभागले कर्णाली प्रदेशका १ लाख आवेदनको ब्लक डाटा ‘मिडलवेयर सफ्टवेयर’मा इन्ट्री गरिसकेकाले छपाइका लागि सुरक्षण मुद्रण केन्द्रमा पठाउने भएको हो ।
यसअघि सफ्टवेयर तयार नभएकाले विभागले दैनिक रूपमा प्राप्त हुने अत्यावश्यक लाइसेन्स मात्रै छपाइका लागि पठाउँदै आएको छ । अहिले भने विभागले सफ्टवेयर बनाइ १ लाख डाटा ‘ब्लक’मै इन्ट्री गरिसकेकाले छपाइका लागि पठाउन लागेको हो ।
विभागका निर्देशक (सूचना प्रविधि शाखा प्रमुख) केशव खतिवडाले कर्णालीका १ लाख लाइसेन्सको ‘ब्लक डाटा’ मिडलवेयर सफ्टवेयरमा इन्ट्री गरिसकेकाले शुक्रबार मुद्रण केन्द्रमा पठाउन लागिएको जानकारी दिए ।
उनका अनुसार कर्णालीका सबै लाइसेन्सको विवरण अनलाइन प्रणालीमा रहेकाले पहिला सफ्टवेयरमा उतारिएको हो । अहिले अन्य प्रदेशको डाटा सफ्टवेयरमा उतार्ने काम धमाधम भइहरेको उनले बताए ।
‘यसअघि मिडलवेयर सफ्टवेयर तयार नहुँदा ब्लकमा डाटा पठाउन सकिएको थिएन । अत्यावश्यक लाइसेन्सको मात्रै पठाउँदै आएका थियौं । अहिले सफ्टवेयर बनाइ कर्णाली प्रदेशको १ लाख लाइसेन्सको डाटा इन्ट्री गरिसकेका छौं । शुक्रबार छपाइका लागि मुद्रण केन्द्रलाई ब्लक डाटा उपलब्ध गराउँछौं,’ उनले मेरोअटोसँग भने, ‘अहिले सुदूरपश्चिमसँगै अन्य प्रदेशको पनि धमाधम डाटा इन्ट्री गर्न सुरू गरेका छौं । क्रमशः लट लटमा पठाउँदै जान्छौं ।’
यद्यपि, बागमती, मधेश, गण्डकी लगायत प्रदेशबाट अनलाइन प्रणाली लागू हुनु (२०७३) अघि जारी भएका लाइसेन्सको विवरण ढड्डामा रहेकाले इन्ट्री गर्न केही ढिलाइ हुने उनले बताए । विगतमा जारी भएका १ लाख बढी नक्कली लाइसेन्स बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । त्यस्ता लाइसेन्सको विवरण समेत रुजु गर्नुपर्ने भएकाले इन्ट्री गर्न केही समय लाग्ने उनले बताए । ढड्डाबाट सबै डाटा इन्ट्री गरिसकेपछि अख्तियारले छानबिन गरिरहेका लाइसेन्स भने नछापिने उनको भनाइ छ ।
केन्द्रमा पठाउन लागिएको १ लाख लाइसेन्स १ महिना भित्र छापिएर आउने उनले बताए । केन्द्रको दैनिक २०/२५ हजार थान लाइसेन्स छाप्न सक्ने क्षमता रहेकाले ती लाइसेन्स १ महिना भित्रै छापिएर आइसक्ने उनको विश्वास छ ।
यद्यपि, हाल केन्द्रको लाइसेन्स छपाइ अति सुस्त छ । केन्द्रले दैनिक ५०० लाइसेन्स छापेर उपलब्ध गराउने भनिए पनि २ महनिामा करिब ९ हजार मात्रै छापिएको छ । विभागले डाटा उपलब्ध नगराउँदा छपाइमा ढिलाइ भएको केन्द्रका अधिकारीहरू बताउँछन् ।
सन् २०२२ मे यता देशभरबाट लाइसेन्सका लागि आवेदन दिएका (ट्रायल पास र नवीकरण) करिब ३० लाखले लाइसेन्स पाएका छैनन् । सोमध्ये विभागले पहिलो चरणमा (वैशाख भित्र) १२ लाख लाइसेन्स छाप्न सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेको छ । केन्द्रले कात्तिक २१ देखि विभागले दैनिक उपलब्ध गराउँदै आएको अत्यावश्यक लाइसेन्स मात्रै छाप्दै आएको छ ।
प्रदेशबाटै वितरण हुने
मुद्रण केन्द्रबाट छापिएर आउने लाइसेन्स वितरणका लागि प्रदेशका यातायात कार्यालयहरूमै पठाउने निर्देशक खतिवडाले जानकारी दिए ।
‘अत्यावश्यक बाहेक अन्य लाइसेन्स विभाग आफैंले वितरण गर्दैन । छापिएर आउने लाइसेन्स जुन नुज प्रदेशको हो, सोही प्रदेशका यातायात कार्यालयमा पठाइन्छ । सेवाग्राहीले जुन कार्यालयबाट आवेदन दिनु भएको थियो । सोही कार्यालयबाटै लाइसेन्स पाउनुहुनेछ,’ उनले भने ।
१८ लाख लाइसेन्स छपाइको छैन टुंगो
विभागले ३० लाख मध्ये १२ लाख लाइसेन्स छपाइ प्रक्रिया अघि बढाएको छ । तर, बाँकी १८ लाख कहिलेसम्म छापिन्छ भने अझै टुंगो छैन । बजेट अभावका कारण थप लाइसेन्स छपाइ प्रक्रिया अघि बढ्न नसकेको हो ।
पहिलो चरणको लाइसेन्स छपाइ सकिएपछि थप छपाइ प्रक्रिया अघि बढाइने निर्देशक खतिवडाले बताए । उनले मन्त्रालयसँग थप बजेट मागी चालु आव भित्रै सबै लाइसेन्स छपाइ प्रक्रिया अघि बढाइने बताए ।
विभागले समयमै लाइसेन्स उपलब्ध गराउन नसक्दा विगत ४ वर्षदेखि ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका चालकहरू ‘चिर्कटो’को भरमा हिँडेका छन् । केहीको लाइसेन्स हात नपर्दै फेरि नवीकरण गर्नुपर्ने अवस्था समेत आएको छ ।

