जर्मनीले बनायो पहिलो इलेक्ट्रीक हाइवे

जर्मनीले पहिलो पटक इलेक्ट्रीक हाइवे अर्थात इहाइवे बनाएको छ । उक्त हाइवेमा हाइब्रिड कार्गो ट्रकका व्याट्री गुड्दा गुड्दै चार्ज हुनेछ । गएको मंगलबार जर्मन सरकारले ६ माइल लामो इलेक्ट्रीक हाइवेको परिक्षण सुरु गरेको हो ।

उक्त हाइवेमा पोलमा रहेको ओभर हेड ट्रलीबाट इलेक्ट्रीक कार्गो ट्रक चार्ज हुने प्रविधिको विकास भएको हो । सो हाइवे फ्राङफर्टको नजिकै रहेको छ ।

इलेक्ट्रीक हाइवेमा रहेको ओभरहेड केवलमा ६७० भोल्ट डाइरेक्ट करेन्ट प्रवाह हुनेछ । जर्मन सरकारले उक्त परियोजनाको नाम इलेक्ट्रीफाइड इनोभेटिभ हाइवे ट्राफिक अन द अटोबाहन (इएलआइएसए) दिएको छ ।

सो हाइवेमा ट्रक ५६ माइल प्रतिघण्टाको गतिमा कुदाउँदासम्म कनेक्सन कायम रहने जनाइएको छ । ६ माइलको ए५ अटोबाहन २०२२ सम्म परिक्षणकै रुपमा सञ्चालन हुनेछ ।

यो परियोजनामा जर्मन सरकारले कुल १ करोड ४० लाख युरो लगानी गर्नेछ । त्यस्तै जर्मन सरकारले ७ करोड युरो थप लगानी गर्ने घोषणा गरेको छ । उक्त रकमबाट फक्सवागनले उक्त हाइवेमा चलाउन मिल्ने स्पेसल हाइब्रिड ट्रक बनाउने छ ।

जर्मन ट्रान्सपोर्ट मन्त्रालयले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार निकट भविष्यमा जर्मनीको ८० प्रतिशत ट्रक विद्युतीकृत भइसक्ने छ ।


Back_to_top