किन माग्यो अर्थमन्त्रालयले विद्युतीय गाडीमा गएको कर्जा रिपोर्ट

काठमाडौं । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई एक पत्र लेख्दै विद्युतीय  सवारीसाधन (इलेक्ट्रीक भेहिकल) उपभोगमा गएको कर्जा र त्यसको आयातमा गएको कर्जाको विषयमा चासो दिएको छ ।सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिँदै आएकोले बजारको अवस्था बुझ्न खोजेको जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठनसँगै उनले इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई जोड दिँदै राज्य स्तरबाटै यसको प्रयोगमा बढवा दिने प्रयास नभएको होइन । तर, नेतृत्वकर्ताले बोलेपनि व्यवहारमा सरकारी तवरबाट ठोस काम भने हुन सकेको छैन ।

अहिले नेपालमा विद्युत उत्पादनको अवस्था निकै सुधारोन्मुख रहेकाले आगामी वर्षसम्ममा नेपाललाई चाहिने विद्युत यहीँ उत्पादन हुने अवस्था सृजना भएसँगै सरकारले विद्युतीय सवारीसाधनमा अझै जोड दिने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंङले अब विद्युत उपभोग बढाउनु पर्नेभन्दै उर्जा खपतको बाटो खोज्न शुरु गरेसँगै सरकारले विद्युतीय सवारीसाधनको आयात कस्ता र कति भइरहेको छ भन्नेतर्फ चासो देखाउन सुरु गरेको हो ।

‘सरकारले इलेक्ट्रीक सवारीसाधनको आयातको अवस्था बुझ्न त्यसमा कति संख्यामा कर्जा प्रवाह भएको छ जानकारी गराउनु भनेको छ । हामीले बैंकहरुलाई एकिन तथ्याङ्क दिन भनेका छौं’, नेपाल राष्ट्र बैंक आयात विभाग प्रमुख सरिता अधिकारीले भनिन् ।  

पेट्रोलियम पदार्थ आयातमा ठूलो रकम खर्च हुने र आफूहरुले उत्पादन गरेको विजुली खेरजाने अवस्था आउन लागेकाले सरकार चनाखो भएर इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढाउन लागि परेको अनुमान लगाउन कठिन छैन ।

नेपाल मै उत्पादनको सम्भावना

२०६९ सालमा सरकारले नेपाल प्रदूषण मापदण्ड–३ लागूगरेसँगै बन्द भएको हुलास मोटर्सले इलेक्ट्रीक कार उत्पादनलाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले चाडपर्व सकिएसँगै काठमाडौंमा परीक्षणको लागि इलेक्ट्रीक कार ल्याउने जानकारी दिएको थियो ।

‘कम्पनीले कार उत्पादनको सबै काम पूरा गरेको छ, केही सामान व्लकमा किन्नु पर्ने भएकाले चिनियाँ कम्पनीसँग छलफल भइरहेको छ । अब छिट्टै काठमाडौंमा यसलाई परीक्षणको लागि ल्याउने छौं’ हुलास मोटर्सका महाप्रबन्धक प्रफुल्ल दासले मेरोअटोसँग भने ।

यसका अलावा करिब एक दर्जन इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनीले उद्योग दर्ता गरेर बसेका छन् । यसले नेपालमा इलेक्ट्रीक सवारीसाधनको उत्पादन र प्रयोगमा केही आशा देखाएको छ ।

सरकारी निकायबाटै समस्या

सरकारले विद्युतीय सवारीसाधन उत्पादन, आयात र प्रयोगलाई जोड दिइरहेपनि सवारीसाधनको गुणस्तर र यसका सुरक्षा मापदण्डको विषयमा मौन रहेका कारण सुरक्षा खतरा बढेको छ ।

नेपाल आयात हुने सवारीसाधन कस्तो गुणस्तरको हुनु पर्ने ? यसमा प्रयोग भएको व्याट्रीको गुणस्तर कस्तो हुने ? यसमा दिइएको मोटरको क्षमता कति हुनु पर्ने ? सुरक्षाका हिसावले गाडीमा कस्ता फिचर अनिर्वाय हुनु पर्ने जस्ता विषयमा सरकारी निकायले कुनै मापदण्ड तयार नगरेकाले बजारमा इलेक्ट्रीक सवारीसाधन जोखिमपूर्ण बन्ने बाटोमा छन् । 


Back_to_top