२२ महिना रोकिएको इम्बोस्ड नम्बर प्लेट लगाउने तयारी गर्दै विभाग

काठमाडौं । २०७४ साल फागुनदेखि २२ महिना रोकिएको इम्बोस्ड नम्बर प्लेट पुनः लगाउन सुरु गर्ने तयारीमा यातायात व्यवस्था विभाग जुटेको छ । मंसिर २७ गते इम्बोस्ड नम्बर प्लेटसम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेसँगै विभागले यसलाई कार्यान्वयनमा ल्याउन लागेको हो ।

सर्वोच्च अदालतको फैसला विभागले पाएसँगै अब आवश्यक प्रक्रिया सुरु गर्ने तयारी थालेको जनाएको छ ।

‘अदालतमा परेको रिट खारेज भएको पत्र विभागमा आएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको छ’, विभागका प्रबक्ता तिर्थराज खनालले भने ।

२०७४ फागुन १० गते सर्वोच्चले अदालतले अन्तरिम आदेशमार्फत् इम्बोस्ड नम्बर प्लेट जडान रोक लगाएको थियो । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयबाट साना र ठूला सवारीमा इम्बोस्ट नम्बर प्लेट जडान भएको थियो ।

अब विभागले नम्बर प्लेट लगाउने तयारी गरेपनि अझै प्रदेशको नामाकरणले अन्तिमरुप पाएको छैन ।

ठेक्का अवधि सकिदै

विभागले २०७३ वैशाखबाट ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बंगलादेश र अमेरिकी संयुक्त कम्पनी ‘डेकाटुर टाइगर’लाई यसको ठेक्का दिएको थियो । उक्त सम्झौताअनुसार नम्बर प्लेट जडानको काम २०७८ वैशाखसम्ममा सक्नु पर्ने हुन्छ ।
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अंक तथा शब्द राखेको भन्दै २०७५ फागुनमा मुद्दापरेसँगै २२ महिनाको अवधि त्यसैखेर गएको छ भने ठेकेदार कम्पनीको समय सकिन लागेको छ ।


Back_to_top