काठमाडौं । मारुती सुजुकीको नयाँ ब्रेजा नेपालमा बुकिङ सुरु भएको छ । कम्पनीले नेपाल ल्याएको नयाँ ब्रेजाको सुरुवाती मूल्य ४१ लाख ९९ हजार रुपैयाँदेखि ५७ लाख ९० हजारसम्म तोकेर विक्री सुरु गर्न लागेको हो ।
कम्पनीले सुरुवाती भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिन थालेको हो । कम्बस्चन इन्जिन भएका गाडी किन्ने ग्राहकले सुरुमा डाउन पेमेन्ट वापत ५० प्रतिशत रकम जम्मा गर्नु पर्ने हुन्छ । त्यसैले नयाँ ब्रेजाको एलएक्सआई भेरियन्ट किन्न चाहने ग्राहकले २० लाख ९९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्छ । माथिल्ला भेरियन्टमा धेरै मासिक किस्ता पर्न आउँछ ।
डाउन पेमेन्ट वापतको रकम जम्मा गरेपछि २० लाख ९९ हजार ५०० रुपैयाँ नै कर्जा वापत लिनु पर्ने हुन्छ । बैंकले अहिले कम्तीमा १३ प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर लगाउने भएको कारण ग्राहकले मासिक ३९ हजार ३४५ रुपैयाँ जति मासिक रुपमा बुझाउनु पर्ने हुन्छ ।
मारुती सुजुकी नयाँ ब्रेजाको टप भेरियन्टमा ९ इन्चको टचस्क्रृन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेड-अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरब्याग दिइएको छ । जुन पहिलेको तुलनामा फिचर लोडेड कार हो ।
नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, डुअल टोन कलर अप्सनमा ब्रेजा उपलब्ध हुनेछ ।
पहिलेको जस्तै नयाँ ब्रेजामा पनि १.५ लिटर, फोर सिलिण्डर पेट्रोल इन्जिन पाउन सकिन्छ । अहिले थप माइल्ड हाइब्रिड टेक्नोलोजी दिएको कारण माइलेज पहिलेभन्दा धेरै आउने कम्पनीले जनाएको छ ।
नयाँ जेनेरेसन ब्रेजाको भीएक्सआई भेरियन्टको मूल्य ४६ लाख ९९ हजार जेडएक्सआई भेरियन्टको मूल्य ४९ लाख ९९ हजार, जेटएक्सआई प्लस भेरियन्टको मूल्य ५७ लाख ३९ हजार रुपैयाँ कायम गरेको छ । जेडएक्सआई प्लस डुअल टोन भेरियन्टको मूल्य भने ५७ लाख ६९ हजार रुपैयाँ पर्नेछ ।


