काठमाडौं । हिजोबाट नेपाली बजारमा विक्री सुरु भएको हुन्डाईको नयाँ जेनेरेशन आई २० दुई भेरियन्टमा विक्री सुरु भएको छ । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दुई भेरियन्टमा नेपाल ल्याएको आई २० को म्याग्ना भेरियन्टको मूल्य ३६ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ४१ लाख ९६ हजार तोकेर विक्री सुरु गरेको हो ।
बैंक तथा वित्तिय संस्थाले गाडीको मूल्यको ५० प्रतिशत मात्रै कर्जा प्रबाह गर्ने भएको कारण आई २० किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।
अहिले बैंक तथा वित्तिय संस्थाले वार्षिक ७.५ प्रतिशत व्याजदरमा अटो कर्जा उपलब्ध गराउँदै आएको छ भने, ७ वर्षको कर्जा सुविधा प्रदान गर्छ । यसरी हेर्दा आई २० म्याग्ना किन्न चाहने ग्राहकले मासिक २८ हजार रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सक्ने छन् ।

नयाँ जेनेरेशन आई २० मा १.२ लिटर क्षमताको कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
भारतीय बजारमा १.५ लिटर डिजेल र १.० लिटर टर्बो इन्जिनमा पनि उपलब्ध रहेको आई २० नेपालमा भने १.२ लिटर इन्जिनमा मात्रै उपलब्ध रहेको छ ।

निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण निकै आकर्षक रहेको छ । ठूलो ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, जेड आकारको एलइडी टेल ल्याम्प, १६ इन्च डायमण्ड कट अलोय ह्वील जस्ता विशेषताले यसको एक्स्टेरियरलाई निकै आकर्षक बनाएको छ ।

प्रिमियम सिट, व्ल्याक करल इन्टेरियर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि र पछाडि नै आर्म रेष्ट जस्ता फिचरले आई २० मा यात्रा गर्ने यात्रुले निकै आरामदायी यात्रा गर्न पाउने छन् ।

यो प्रिमियम ह्याचव्याक सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेको छ । ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र टायर प्रेसर मोनिटरिङ सिस्टम यसमा पाउन सकिन्छ ।

