काठमाडौं । वैशाख महिनामा तातोपानी भन्सार नाकाबाट विद्युतीय सवारी आयात ह्वात्तै बढेको छ ।
चालु आवको चैतसम्म तातोपानी नाकाबाट औसतमा मासिक ३०३ युनिट सवारी साधन आयात हुँदै आएकोमा वैशाखमा भने चार गुणाले बढेर १ हजार २१८ युनिट पुगेको हो ।
तातोपानी भन्सार कार्यालयका अनुसार वैशाख महिनामा मात्रै ३ अर्ब ११ लाख रुपैयाँ बराबरको कुल १ हजार २१८ युनिट ईभी भित्रिएका हुन् ।
वैशाखमा तातोपानी हुँदै २०१ युनिट माइक्रोबस, ९९० युनिट कार, जीप, भ्यान, ४ युनिट डबल क्याब पीकअप, ४ युनिट ट्रक र १९ युनिट अन्य चारपाँग्रे इलेक्ट्रीक भित्रिएका छन् ।
उक्त सवारी आयात बापत वैशाखमा सरकारले १ अर्ब ६६ करोड रुपैयाँ राजस्व पाएको छ ।
वैशाखमा तातोपानीबाट सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटसम्म मोटर क्षमताका ६८२ युनिट ईभी कार आयात भएको छ । त्यस्तै, ५० किलोवाटभन्दा कम मोटर पावर भएका २३८ युनिट, १०१ देखि २०० किलोवाट मोटर पावरका ७० युनिट र ११ देखि १४ सिट क्षमतामा २०१ युनिट माइक्रोबस आयात भएको भन्सार कार्यालयको तथ्यांक छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधन (ईभी)मा कर बढ्ने हल्लाका कारण व्यवसायीहरूले वैशाखमा ईभीको आयात ह्वात्तै बढाएका हुन् ।बजेटमा ईभीको कर बढे सवारी साधनको मूल्य पनि महँगिने भएकाले व्यापारीहरूले बजेट अघि नै टन्नै गाडी ल्याएर राखेका हुन् ।
त्यस्तै, वैशाखमा चीनबाट आयात गरिएको १ हजार बढी सवारी साधन भन्सार जाँचपास हुन बाँकी रहेको कार्यालयले जनाएको छ । भन्सार यार्ड र सडकमा राखिएका ती गाडी पनि बजेट अगिाडि नै छुटाउने देखिन्छ ।
चालु आवको १० महिनामा तातोपानी भन्सार कार्यालयबाट कुल ३ हजार ९४७ युनिट सवारी साधन आयात भएका छन् । जसमा वैशाखमा मात्रै ३१ प्रतिशत सवारी आयात भएका हुन् ।
चालु आवमा तातोपानी नाकाबाट मात्रै १० अर्ब २ करोड रुपैयाँ बराबरको सवारी साधन भित्रिएका हुन् । जसबापत सरकारले ५ अर्ब ४० करोड राजस्व पाएको छ । तातोपानीबाट मुख्यगरी ओमोडा, दीपल, बीएडब्लू, नामी, सेरेस, फोटोन, सकोन लगायत ब्राण्डका विद्युतीय सवारी साधन भित्रिन्छन् ।

